रामेछाप अस्पताल व्यवस्थापन तथा संचालन समितिको अध्यक्षमा पुनः युवा नेता पाख्रिन

| पुस ११, २०८१ बिहिबार

A A A
A A A

११ पुस, रामेछाप । रामेछाप अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा पुनः नेपाली काँग्रेसका युवा नेता यम पाख्रिन नियुक्त भएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेपछि जिल्ला र प्रदेशका कार्यालयको नेतृत्वमा भाग बण्डा गर्ने क्रममा पाख्रिनलाई पुनः अस्पताल व्यवस्थापनको जिम्मेवारी आएको हो । 

 

गत आइतबार बसेको बागमती प्रदेशको मन्त्री र सांसद्हरु स्तरको बैठकले प्रदेशका विभिन्न अस्पतालको व्यवस्थापन तोक्ने क्रममा रामेछाप अस्पतालको  व्यवस्थापन तथा संचालन  समितिको अध्यक्षमा पाख्रिनलाई दाेस्राे कार्यकालको लागि नियुक्त गरिएको हो । 

 

१५ शय्याको रामेछाप अस्पताल पछिल्लो समय सुविधा सम्पन्न बन्दै गएको छ । बेला–बेला बेलामा आइपर्ने राजनीतिक परिवर्तनले भने यसको विकास र स्तर उन्नतिमा हल चल ल्याउने गरेको छ । यद्दयपी पछिल्लो समय नियमित सेवा सँगै विभिन्न जनचेतना मूलक कार्यहरू समेत यो अस्पतालले संचालन गर्दै आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डाक्टर केशव श्रेष्ठले बताए । 

 

अस्पताल व्यवस्थापनमा पुनः पाख्रिन नियुक्त भएपछि खुसी व्यक्त गर्दै मेडिकल सुपरिटेण्डेन डाक्टर श्रेष्ठले सामाजिक संजालमा लेखेका छन् ‘हिजो पनि हामी सँगै काम गरेका थियौ, रामेछाप अस्पताललाई प्राइमरी लेबलको अस्पतालमा नेपालको नै उत्कृष्ट तेस्रो अस्पताल बनाउन हजुरले खेलेको भूमिका तारिफ योग्य छ’ उनले आगामी दिनमा थप अस्पतालको सेवा गुणस्तरीय बनाउनेमा विश्वास व्यक्त गर्दै ‘हामीले रामेछाप अस्पताललाई अझै गुणस्तरीय र सेवा मुखी बनाउन बनाएका योजनाहरू अब पुरा हुने छ।’

 

विभिन्न सेवा सुविधाले सम्पन्न भए पनि दैनिक बिरामीको चाप भने जिल्ला सदरमुकाम मन्थलीमा रहेका अन्य अस्पतालको तुलनामा कम देखिन्छ । रामेछाप अस्पतालमा बिरामीहरुको चाप बढाउनु नै अस्पताललाई ठुलो टाउको दुखाईको विषय बनेको दाबी सरोकारवालाहरुको छ ।