मन्थली–८ चिसापानी : ३० वटा सडक बत्ती जोडेर गाउँ झिलिमिली, होमस्टे सञ्चालनदेखि स्वास्थ्य चौकी भवनको काम धमाधम (भिडिओसहित)
११ पुस, रामेछाप । जनताको अपेक्षा अनुसारको काम गरेर चर्चा बटुल्दै गएका मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले फेरी अर्को जनहितमा कार्य गरेका छन् । ‘उज्यालो चिसापानी’ अन्तर्गत वडा कार्यालय परिसर क्षेत्रमा सडक बत्ती जडान गरी वडालाई नै झिलिमिली पारेका हुन् ।
बुधवार ‘क्रिसमस् डे’को अवसर पारे वडा कार्यालयसँगै जोडिएको मुख्य सडक मार्गमा ३० वटा सडक बत्ती जडान सकेर संचालन गरिएको वडा अध्यक्ष श्रेष्ठले रामेछाप टाइम्सलाई बताएका हुन् । मन्थली नगरपालिकाको प्रवक्ता समेत रहेका वडा अध्यक्ष श्रेष्ठले नगरपालिकालाई नै समृद्ध नगर बनाउने योजना अनुसार वडालाई सुन्दर र समृद्ध बनाउने योजनामा रातदिन खटिएको उनको तर्क छ ।
आफ्नो वडाका सम्पूर्ण ठाउँमा विद्युतिकरण सकिएको बताउँदै चालु आर्थिक वर्ष २०८१÷०८२ मा मुख्य बस्ती आसपासमा सडक बत्ती जोडेर चिसापानी गाउँलाई उज्यालो बनाउन लागेको बताए ।
वडा कार्यालयको २ लाख बजेटबाट खरिद गरिएको ३० वटा सडक बत्ती तत्काल जोडिएको प्रष्ट पार्दै वडा अध्यक्ष श्रेष्ठले आगामी दिनमा थप ५० वटा सडक बत्ती जोड्ने योजनामा रहेको उनले सुनाए ।
सडक बत्तिले रातिको यात्रालाई सहज पार्ने, सुरक्षा बढाउने लगाएको विश्वास व्यक्त गर्दै वडा अध्यक्ष श्रेष्ठले वडालाई पर्यटकीय सुन्दर वडा बनाउने कार्य स्वरूप कूल ३ लाख लागतमा १२ वटा प्रतीक्षालय बनाएको, गाईखुरा देखि मुख्य गाउँ सम्मको सडक छेउमा बिरुवा रोपिएको लगाएतका कार्य गरिएको बताए ।
सामुदायिक विकास समाज (सिडिएस) को सहयोगमा वडाका विभिन्न घरलाई होमस्टेको रूपमा विकास गर्दै गएको बताउँदै मन्थलीको गर्मीबाट भाग्नलाई अब अन्त जान नपर्ने र त्यसको विकल्पमा चिसापानी हुने वडा अध्यक्ष श्रेष्ठले जिकिर गरे ।
आफू आएपछि वडा कार्यालय निर्माण सकेर सेवामा रहेको सुनाउँदै स्वास्थ्य चौकीको भवन निर्माण धमाधम सुरु भएको अध्यक्ष श्रेष्ठले बताए । योग केन्द्र, भजन मण्डली लगायतका भवनहरू पनि सञ्चालनमा आउने तयारीमा रहेको उनको भनाई छ।
नगरपालिका प्रमुख लव श्रेष्ठको समेत वडा रहेको चिसापानीमा १४ वटा वडा माध्य सबै भन्दा कम बजेट नगरपालिकाबाट छुट्ट्याइए पनि सुशासनलाई केन्द्रित गर्दै वडाको समृद्धिलाई अगाडि बढाउँदा काम गर्न सफल भएको जिकिर वडा अध्यक्ष श्रेष्ठको छ ।