रामेछाप प्रशासनमा ‘सिडिओ’ पौडेलसहित सरकारी कार्यालयका नेतृत्व टिमको ‘पत्रकार टिम’सँग भेट : वक्ताहरूले भने ‘फेस्बुकमा लेख्नेलाई पत्रकार नमान्दिनुस्’
११ पुस, रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापको गत मंसिर २८ गते निर्वाचित ‘टिमसँग’ जिल्लाको सरकारी कार्यालयको ‘नेतृत्व ’ तहले भेटघाट तथा बधाई दिएको छ । निर्वाचित महासंघको टिमसँग औपचारिक भेटघाट गर्दै रामेछाप प्रशासनसहित प्रहरी प्रशासन र कर्मचारी मिलन केन्द्र समेतले बधाई तथा सफल कार्य कालको शुभकामना प्रदान गरेको हो ।
बिहीबार जिल्ला प्रशासन कार्यालय रामेछापको सभा हलमा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले, सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपाने, प्रमुख कोष नियन्त्रक एवं कर्मचारी मिलन केन्द्रका संयोजक भूपेन्द्रबहादुर मल्ल, कोष नियन्त्रक दीपक श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख (डिएसपी) प्रहरी प्रदीप कुमार सिंह, सशस्त्र प्रहरीका प्रमुख (डिएसपी) सूर्य प्रकाश शर्मा, प्रमुख अनुसन्धान अधिकृत उमा अधिकारीसहितको उपस्थितिमा पत्रकार महासंघमा निर्वाचित केन्द्रीय सदस्य नवराज पथिक, केन्द्रीय पार्षद् बद्री नयाँघरे, जिल्ला अध्यक्ष दीपक कुमार घिमिरे लगायत कार्यसमिति सदस्यहरूलाई भेटघाट गरी बधाई तथा शुभकामना दिएको हो ।
सो क्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नवराज पथिक, जिल्ला अध्यक्ष घिमिरे र निवर्तमान अध्यक्ष समेत रहेका बद्री नयाँघरेले पत्रकारिता क्षेत्रमा देखिएका अवसर र चुनौतीका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
प्रमुख जिल्ला अधिकारी मार्फत सरकारी कार्यालयका प्रमुखहरूको ध्यानाकर्षण गर्दै केन्द्रीय सदस्य पथिकले सरकारी कार्यालयबाट प्रकाशित हुने सूचना तथा विज्ञापन जिल्लाका क्रियाशील पत्रकारहरूलाई प्रदान गर्दै आर्थिक मन्दीको मारमा पारेका मिडियाहरूलाई जोगाउन भूमिका खेल्नु पर्नेमा जोड् दिए । उनले पत्रकार हुँ बन्ने र फेसबुक, युट्युबमा बोल्ने सबैलाई पत्रकार नमान्न सचेत गराउँदै मिडिया क्षेत्रमा देखिएको बेतिथिलाई अन्त्य गर्न सबैले भूमिका खेल्दिन पनि आग्रह गरे ।
त्यस्तै, जिल्ला अध्यक्ष घिमिरेले सबैसँग सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता जनाए । साथै, उनले स्थानीय तहले पत्रकारिता क्षेत्रसँग गर्ने सहजिकरणमा सरकारी निकायको पनि साथ पाउने विश्वास व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लामा सबै पत्रकारको सङ्गठनहरू एक भएर उदाहरण प्रस्तुत गरेकोमा खुसी व्यक्त गर्दै सूचना र सञ्चारको क्षेत्रमा मिलेर काम गर्ने धारणा राखे । पत्रकार क्षेत्रमा पनि केही ‘नेगेटिभ’ मान्छेहरू रहेको तर्क गर्दै त्यस्ता ‘पात्र’लाई नियन्त्रण गरी क्रियाशील पत्रकारहरूले सही सूचना र संचारमा काम गर्न प्रोत्साहित गर्न सक्नु पर्नेमा जोड् दिए । संचार माध्यमलाई जोगाउन आफूहरूको तर्फबाट सक्ने सहयोग हुने बचनबद्ध गर्दै (प्रतिअ) पौडेलले पत्रकारहरूले सत्य र सही सूचना दिन आग्रह गरे ।
हरेक क्षेत्रमा राम्रा र नराम्रा दुवै किसिमका मान्छेहरू हुने भन्दै पत्रकारितामा भएका नराम्रा पत्रलाई चिनाएर सत्य र सकारात्मक पत्रकारलाई सबैसँग मिलेर काम गर्न सकिने धारणा राखे ।