२०८३ माघ मसान्त भित्र ‘बालमैत्री स्थानीय पालिका’ घोषणा गर्ने उमाकुण्ड गाउँपालिकाको प्रतिबद्धता
१४ पुस, रामेछाप । उमाकुण्ड गाउँपालिकाले आउँदो दुई वर्ष भित्र बालमैत्री स्थानीय शासन युक्त पालिका घोषणा गर्ने प्रतिबद्धता जनाएको छ । त्यसको लागि शनिवार देखि विधिवत् प्रक्रिया शुभारम्भ गरिएको गाउँपालिकाले जनाएको हो ।
शनिवार गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार र प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारी लगायत गाउँपालिकाका सबै जनप्रतिनिधिहरूको उपस्थिति र सहमतिमा प्रतिबद्धता सहित हस्ताक्षर गरिएको उपाध्यक्ष सावित्री सुनुवारले रामेछाप टाइम्सलाई बताइन् ।
उनका अनुसार आगामी २०८३ को माघ मसान्त सम्म पालिकालाई विभिन्न ५१ वटा सूचकहरू पूरा गरी बालमैत्री पालिकाको रूपमा घोषणा गरिने छ ।
शिक्षा, स्वास्थ्य, खानेपानीसहित आधारभूत बाल अधिकारहरुको सुनिश्चित गर्दै उनीहरूको सक्रिय उपस्थिति र सहभागितालाई जोड् दिएर बालबालिकाको सर्वाङ्गीण विकास र सर्वोतम हितका लागि कार्य गरिने छ ।
पालिका भित्रका बालबालिकाहरूको सक्रिय सहभागितामा सुरु गरिएको कार्यक्रममा सरोकारवालाहरूलाई दुई दिने अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरण पश्चात् पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित सरोकारवालाहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष सुनुवारले तोकिएको समय भन्दा अघि नै कार्य सफलता हुने गरी काम हुने विश्वास व्यक्त गर्दै त्यसका लागि सबै वडा कार्यालयहरूले पनि सोही बमोजिम गरिदिन गरे ।
त्यस्तै उपाध्यक्ष सुनुवारले आफूहरूको कार्यकाल भित्र बालमैत्री स्थानीय तह घोषणा गर्ने गरी काम अगाडि बढेको उल्लेख गर्दै बालबालिकाको क्षेत्रमा काम गर्न तयार रहेको धारणा राखिन् । प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष रुद्र मणि नेवारले गाउँपालिकालाई बालमैत्री पालिका घोषणा गर्न मिलेर काम गर्दै लक्षित समयमै पूरा हुने विश्वास व्यक्त गरे ।
दुई दिने अभिमुखीकरण मार्फत बालमैत्री स्थानीय तह घोषणा गर्न आवश्यक विभिन्न सूचक र त्यसलाई कार्यान्वयनका बारेमा सरोकारवालाहरूलाई जानकारी भएको बताउँदै पालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख कविता सुनुवारले अभिमुखीकरणबाट सिकेको जानकारीलाई लागू गर्दै जाने बताइन् ।
यस अगाडि रामेछापको मन्थली र रामेछाप नगरपालिकाले बाल मैत्री स्थानीय तह घोषणा गर्ने गरी धमाधम काम गरिरहेका छन् ।