मंगलबारदेखि मन्थलीमा ‘कृषि तथा लघु उद्यम प्रदर्शनी मेला’, राज्य मन्त्री तामाङले उद्घाटन गर्ने (भिडिओसहित)
१४ पुस, रामेछाप । आफ्नो नगरपालिका भित्र उत्पादन भएको कृषि उत्पादनलाई प्रवर्द्धन र कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले मन्थली नगरपालिकाले गर्न लागेको दुई दिने ‘कृषि तथा लघु उद्यम प्रदर्शनी मेला’को तयारी सकिएको छ । मेलाको राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले उद्घाटन गर्ने बताइएको छ ।
आइतबार नगरपालिकामा पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण तयारी सकिएको जानकारी गराएको छ । १२ लाख भन्दा बढी नगरपालिकाको खर्च हुने अपेक्षाले संचालन हुन लागेको दुई दिने कृषि मेला जिल्ला समन्वय समिति पछाडि लाग्ने छ ।
१४ वटा वडाका किसानहरूले उत्पादन गरेका कृषि उत्पादनहरू सँगै लघु घरेलु उद्योगबाट उत्पादित हाते होजियारी सामाग्री र खसी, बाख्रासमेतको प्रदर्शन गर्दै नगरका कृषकहरूलाई बजारीकरणको लागि सम्भाव्यता ‘स्वः मूल्याङ्कन’ गर्ने हेतुले मंगलबार र बुधवार मेला आयोजना गरिएको नगरपालिकाका आर्थिक विकास शाखा अधिकृत गोविन्द कट्टेलले बताए । ‘किसानहरूलाई आफ्नो उत्पादन स्टलमा निःशुल्क राख्ने, ल्याउने, लाने सम्म व्यवस्था गरेर कृषि उत्पादनको प्रवर्द्धन गर्न लागेका हौँ’ कट्टेलले प्रस्ट पार्दै भने ‘खरिद् बिक्री गर्न पाइन्छ । कुन कृषकले कति उत्पादन गरेको रहेछ भनेर मूल्याङ्कन गर्न पनि सक्छौँ र धेरै उत्पादन गर्नेहरूलाई पुरस्कृत पनि गर्दै छौँ ।’
कट्टेलका अनुसार विभिन्न विधामा राम्रो उत्पादन गर्ने कृषकहरूलाई नगद पुरस्कारद्वारा सम्मानित गरिने नगरपालिकाले तयारी गरेको छ ।
५३ वटा स्टल तयार भइसकेको सुनाउँदै मेला आयोजनाका संयोजक एवं वडा नं १३ का अध्यक्ष नवराज थापा मगरले यो मेलाले नगरपालिकाको आफ्नै उत्पादन कति रहेछ र हाल सम्म प्रदान गरिँदै आएको अनुदान कति रहेछ भन्ने यकिन गर्न सजिलो हुने विश्वास व्यक्त गरे । कृषि मेलाले नगरपालिकाले आगामी दिनमा कृषि क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने विषयमा बुझ्नेको लागि कोशे ढुङ्गा साबित हुने संयोजक थापा मगरको भनाई छ । ‘यो मेलाले आगामी बजेट बनाउँदा कृषिलाई कति प्राथमिकता दिने, बजेट कति छुट्टयाउने भन्न धेरै सजिलो हुन्छ । हाम्रो उत्पादन पनि एकै ठाउँमा देखिन्छ ।’
नगरपालिका प्रमुख लव श्रेष्ठले पनि लामो समयदेखि कृषि क्षेत्रमा गरेको लगानीको स्वमूल्याङ्कन गर्ने आधार कृषि मेला भएको बताए । प्रवेश गर्नेहरूलाई निःशुल्क र खरिद बिक्री गर्न नगरले निर्धारण गरेको विधि र प्रक्रिया अनुसार हुने बताउँदै भने ‘यो हाम्रो आन्तरिक मूल्याङ्कन गर्ने बाटो हो ।’
कार्यक्रम उद्घाटन र समापनमा औपचारिक कार्यक्रम आयोजना गरिएको र बाँकी सबै कृषि मेला, खरिद् बिक्री हुने प्रस्ट पार्दै नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले कृषि मेलाको उद्घाटन गर्ने जानकारी दिए ।