चिसापानीको प्रचारप्रसार गर्न वडाले गरायो ‘बुलेट यात्रा’ (भिडिओसहित)
१६ पसु, रामेछाप । जिल्लाका प्रमुख धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक एवं पर्यटकीय सम्भावना बोकेका प्रमुख स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले ‘बुलेट यात्रा’ गर्दै आएको रोयल इनफिल्ड गुरुप रामेछापले चिसापानी गढीमा ‘बुलेट यात्रा’ गरेको छ । मन्थलीबाट छोटो दूरीमा अवस्थित प्रमुख पर्यटकीय सम्भावना बोकेको भीमसेन मन्दिर र गढीको प्रचारप्रसार गर्ने उद्देश्यले १५ वटा बुलेट बाइकसहितको टोली पुगेको हो ।
वडा कार्यालय चिसापानीको पहलमा वडा स्थित ‘चिसापानी गढी’ र भिमशेन मन्दिर नगरकै प्रमुख पर्यटकीय सम्भावना बोकेको स्थल मानिन्छ । सोही कुरालाई मध्य नजर गरी वडा अध्यक्ष गोपाल श्रेष्ठले रोयल इन्फिल्ड गरुपसंग सहकार्य गरी ती ठाउँको प्रचारप्रसारलाई तीव्रता दिएका हुन् ।
सोमबार मन्थली नगरपालिका देखि सुरु भएको बाइक र्याली वडा कार्यालय, भिमशेन थान हुँदै गढी पुगेर समापन गरिएको थियो । नगर प्रमुख लव श्रेष्ठ, वडा अध्यक्ष, एवं नगरपालिकाका प्रवक्ता समेत रहेका गोपाल श्रेष्ठ, गढीका अध्यक्ष श्याम श्रेष्ठ सहित ३० जना भन्दा बढीको टोलीलाई लाखे नाच, हिले नाच, नेवारी संस्कृतिसँग सम्बन्धित विभिन्न नाच, पञ्चेबाजा, श्री स्वस्थानी नाचसहितको साङ्गीतिक प्रस्तुतिसहित भव्य स्वागत गर्दै प्रचारप्रसारको प्रारम्भ गरिएको हो ।
आफ्नो वडा १४ वटा वडा मध्ये कै अब्बल बनाउन लागि परेको दाबीसहित अध्यक्ष श्रेष्ठले भने ‘यो वडामा सडक बत्ती जडान गर्ने काम सकियो । होमस्टे सञ्चालन गर्ने कामको थालनी भएको छ । सडक सिँगार्ने, सजाउने र यात्रु प्रतीक्षालय निर्माण जस्ता पर्यटकलाई आवश्यक पर्ने पूर्वदारहरू तयार गरिएकाले अब पर्यटक भित्र्याउन सबैको साथ चाहिएको छ’ अध्यक्ष श्रेष्ठले थपे ‘यी सम्भावित ठाउँहरूको प्रचारप्रसारमा तपाईँहरू सबैले साथ दिनु होला । प्रचारप्रसार गर्दिनु होला ।’
आफू निर्वाचित भएको ‘९२५ दिन’ भएको उल्लेख गर्दै वडा अध्यक्ष श्रेष्ठले ‘हाम्रो वडा पूर्वाधारको हिसाबले,सम्पदा, भाषा, धर्म, शिक्षा, स्वास्थ्य’ जस्ता सबै हिसाब सम्पन्न रहेको दाबी गरे । तीनै प्रमुख स्थलहरूले पर्यटक तान्न सक्ने ‘तत्त्व’ रहेको उनको जिकिर छ ।
त्यस्तै, नगर प्रमुख एवं सोही वडाका स्थानीय समेत रहेका लव श्रेष्ठले पनि चिसापानीको समृद्धिको लागि आन्तरिक एवं बाह्य पर्यटकहरू भित्र्याउनु पर्नेमा जोड् दिए । वडाले गरेको प्रचारप्रसारको काम निकै प्रशंसनीय रहेको भन्दै नगरप्रमुख श्रेष्ठले नगरको तर्फबाट पनि दिगो पर्यटकीय प्रचारप्रसारको लागि सहयोग गर्न सकिने धारणा राखे ।
जिल्लाको पर्यटन प्रचारप्रसार गर्ने बुलेट टिम अभियानसहित लागि परेकोमा खुसी व्यक्त गर्दै मेयर श्रेष्ठले तिल्केस्थान गढी र चिसापानी गढीलाई सबै मिलेर प्रचारप्रसार गरिदिन आग्रह गरे । मन्थलीमा रहेको रामेछाप विमानस्थलबाट हुने लुक्ला उडानका पर्यटकहरूलाई गढीहरूको अवलोकन गराउन सकिने सम्भावना पेस गर्दै नगरका ४/५ वटा रुट बनाएर यात्रा गराउन सक्नु पर्ने धारणा राखे ।
चिसापानी वडा कार्यालय परिसरमा विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुतिसहितको कार्यक्रमलाई सम्बोधन गर्दै बुलेट टिमबाट अप्रिल अधिकारीले विशुद्ध सामाजिक कार्य अन्तर्गत स्थानीय स्तरको प्रचारप्रसार गर्न सहयोग गर्न लागेको धारणा राखे । सानो प्रयासले लुकेर रहेका स्थानहरूको प्रचारप्रसार हुनेमा विश्वास व्यक्त गर्दै अधिकारीले स्थानीय तहले पहल गरेको खण्डमा आफूहरूले सक्दो सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।