‘प्याब्सन’ रामेछापको अध्यक्षमा पुनः तिमल्सिना दोहोरिए

| पुस १७, २०८१ बुधबार

A A A
A A A

१७ पुस, रामेछाप । निजी विद्यालयहरूको छाता संस्था निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) रामेछापको अध्यक्षमा केशव तिमल्सिना पुनः दोहोरिएका छन् । यस अगाडि पनि अध्यक्ष रहेका कर्कला देवी बोर्डिङ स्कुलका प्रिन्सिपल (प्रअ) तिमल्सिना दोस्रो कार्यकालको लागि सर्व सहमतिमा अध्यक्ष दोहोरिएको बुझिएको छ । 

 

बुधवार मन्थलीमा भएको (प्याब्सन) नेपालको छैटौँ जिल्ला अधिवेशनबाट तिमल्सिनाको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गरिएको हो । जिल्ला भरीका १० निजी विद्यालय आबद्ध (प्याब्सन) को उपाध्यक्षमा तामाकोशी इंग्लिश बोर्डिङ स्कुल मन्थलीकी शिक्षिका पार्वती पाठक, सचिवमा लिटिल स्टार इंग्लिश स्कुलका (प्रअ) रमेश फुयाँल चयन भएका छन् । 

 

त्यस्तै, कोषाध्यक्षमा खाँडादेवी गाउँपालिका वडा नं ६ माकादुममा सञ्चालित जिएन इंग्लिश बोर्डिङ स्कुलकी अनिता कार्कीले जिम्मेवारी पाएकी छिन् । 

 

निजी विद्यालयहरूको पठनपाठन लगायत व्यवस्थापकीय कार्यसहित विविध क्षेत्रमा सहयोग गर्दै आएको प्याब्सनको सदस्यमा गंगालाल एकेडेमी रामेछाप नगरपालिकाका रवीन्द्र कुमार श्रेष्ठ, खिम्ती सनराइज पब्लिक स्कुलका खड्गबहादुर थापा, दीप ज्योति इंग्लिश स्कुल सालुका अनिल श्रेष्ठ चयन भएका हुन् । उनीहरू सर्व सहमतिमा ३ वर्षे कार्यकालको लागि जिम्मेवारीमा पुगेका हुन् । 

 

अधिवेशनले गंगालाल एकेडेमी रामेछापकै ढाल विक्रम कार्कीलाई महाधिवेशन प्रतिनिधि निर्वाचित गरेको छ । बुधवार मन्थलीका (तामाकोशी, लिटिल स्टार र केब्स) निजी विद्यालयहरू बन्दै गरेर भव्य सांस्कृतिक कार्यक्रमसहित गरिएको अधिवेशनको ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले उद्घाटन गरेका थिए ।