रामेछाप महिला उद्यमी संघको अध्यक्षमा महत
२० पुस, रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत (खड्का) सर्व सहमतिमा अध्यक्ष बनेकी छिन् । महतको नेतृत्वमा गठित १० सदस्यीय जिल्ला कार्यसमितिले शपथ ग्रहण गर्दै जिम्मेवारी लिएको हो ।
शनिवार मन्थलीमा भएको संघको चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महतको अध्यक्षतामा तारादेवी थापा उपाध्यक्ष निर्विरोध बनेकी छिन् ।
जिल्लामा रहेर विभिन्न क्षेत्रमा सक्रिय महिलाहरूको उक्त समूहको महासचिवमा मञ्जु माझी, सचिवमा बोध कुमार श्रेष्ठ (गोमा) चयन भएका छन् ।
त्यस्तै, संघको कोषाध्यक्षमा विमला श्रेष्ठले जिम्मेवारी पाउँदा कविता श्रेष्ठ, सविता श्रेष्ठ, विमला श्रेष्ठ, डुकुना पोखरेल (घिमिरे) र सावित्री घिमिरे (दाहाल) कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक नवीन थापा मगरले घोषणा गरे ।
दुई वर्षे कार्यकाल रहेको संघमा यस अगाडि डम्बरकुमारी भण्डारीको नेतृत्वमा रहेको जिल्ला कार्यसमितिले तीन दिने नेतृत्व तथा क्षमता विकास तालिम सञ्चालन सहित विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा सहभागिता जनाएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आगामी दिनमा जिल्लाका विभिन्न स्थानमा उद्यमी रहेका महिलाहरूलाई संघमा आबद्ध गर्दै उनीहरूले उत्पादन गरेका सामानहरूको बजारीकरणमा जोड्दै लाने, महिलाहरूको क्षमता विकाससँगै स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्दै महिलाहरूको आर्थिक, सामाजिक तथा कानुनी हक तथा अधिकारको बारेमा सचेतना मूलक बहस र पैरवी गर्ने योजना अगाडि सारेको महासचिव संगिता श्रेष्ठको प्रतिवेदनमा उल्लेख छ ।