५ महिनाको अवधिमा रामेछापमा २१ वटा सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु, ११ जना गम्भीर र ४१ जना सामान्य घाइते
२१ पुस, रामेछाप । रामेछापमा बितेको पाँच महिनामा २१ वटा सवारी दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएका छन् । सोही दुर्घटनामा परी ११ जना गम्भीर र ४१ जना सामान्य घाइते भएका छन् ।
गत शुक्रवार जिल्ला प्रशासन कार्यालय रामेछापले गरेको सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख दीपक चौलागाईसहितको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक कौशल न्यौपानेले सार्वजनिक गरेको विवरण अनुसार गत साउनमा–१, असोजमा–९, कात्तिकमा–३ र मंसिरमा–८ गरी २१ वटा सवारी दुर्घटना भएको विवरण सार्वजनिक गरेका हुन् ।
सार्वजनिक वितरण अनुसार सो अवधिमा २–ट्रक देद्वकर, २–बस, ४–जिप कार भेन, २–ट्याक्टर, २–ट्याम्पो, ९– मोटरसाइकल दुर्घटनामा परेका हुन् । दुर्घटनामा परि ४ जना पुरुष, ३ जना महिला, २ बालकसहित ९ जनाले ज्यान गुमाएका हुन् ।
जिल्लाका विभिन्न स्थानमा भएका ती दुर्घटनामा ६ जना पुरुष, ३ जना महिला, २ जना बालकसहित ११ जना गम्भीर घाइते भएको प्रवक्ता न्यौपानेले सार्वजनिक गरे । पुस १८ गते सम्मको तथ्याङ्क अनुसार २१ दुर्घटनामा ९ जना पुरुष, २२ जना महिला, ५ जना बालक र ५ जना बालिकासहित ४१ जना सामान्य घाइते भएका छन् ।
कच्ची, हिलाम्मे र धुलाम्मे सडकसहित चालक र यात्रु दुवैको लापरबाहीका कारण भएका ती दुर्घटनामा १४ वटा सवारीमा क्षति पुगेको विवरणमा उल्लेख छ ।