रामेछापमा २० करोडको जुनार फलेको ‘गलत सूचना’ फैलाएको एक वर्षपछि ‘कृषि कार्यालय’का प्रमुख भन्छन् – ‘हचुवाकै भरमा सूचना दिएका हौँ’
२१ पसु, रामेछाप । रामेछापका सरकारी कार्यालयहरूले सार्वजनिक गर्ने तथ्याङ्क/ विवरण हचुवाको भरैमा दिने गरेको पाइएको छ । यती, सम्मकी कार्यालयहरूले आधिकारिक रूपमा कार्यालयमा समेत तीनै ‘बिना पुष्टिका’ (अप्रमाणित) तथ्याङ्कहरू प्रयोग गर्ने गरेको पाइएको हो ।
बिना आधार हचुवाको भरमा गरिएको अन्दाजी मूल्याङ्कन र विवरणले ती क्षेत्रमा गरिने लगानी, योजना लगायतको भविष्यका सबै कार्य नै विफल हुने खतरा रहेको खुलासा भएको हो ।
तीन तहको सरकार मातहतका कार्यालयहरूले कुन कार्यालयले संकलन गरेका विवरणहरू आधिकारिक र प्रमाणित हुन् भनेर स्वीकार गर्ने भन्नेमा दुबिधा हुँदा पनि तथ्याङ्कमा आधारित विवरणहरू हचुवाकै भरमा प्रयोग गर्ने/गराउने गरेको तथ्य प्रमाणित भएको हो ।
गत शुक्रवार जिल्ला प्रशासन कार्यालय रामेछापले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सरकारी कार्यालयहरूले गलत विवरणका सूचनाहरू प्रयोग गर्ने गरेको प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल समक्षै स्वीकार गरेका हुन् ।
गत वर्ष २० करोडको जुनार उत्पादन भयो भनेर राष्ट्रिय तथा स्थानीय मिडियाहरूमा प्रचारप्रसार गरिए पनि त्यो सत्य नरहेको किसान र स्थानीयहरूले प्रश्न गरेपछि पत्रकारहरूले आधिकारिक तथ्याङ्कको पुस्ट्याइँ खोज्दा उक्त तथ्य बाहिरिएको हो ।
गत वर्ष २० करोडको जुनार फलेको ‘कसै गरी पनि’ सम्बन्धित कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतका सम्बन्धित कार्यालयले पुष्टि गर्न नसकेपछि गलत सूचना दिएको पुष्टि भएको हो । गलत विवरणसहितको सूचना सम्प्रेषण गरेको बारेमा कार्यालयका प्रमुख मीनबहादुर पुन र थिर लाल गैरेले समेत स्वीकार गरेका छन् ।
किसानले बंगैचामा उत्पादन गरेको परिमाणलाई आधार मानेर अन्दाजी हिसाब गर्दा सामान्य रूपमा १० देखि १२ करोड सम्मको कारोबार हुन सक्ने आङ्कलन गरिए पनि २० करोडको प्रचार गरिएपछि गलत सूचना सम्प्रेषण भइरहेको उनीहरूले स्वीकार गरेका हुन् ।
‘हामीले जिल्लाको फाइदाको लागि जान्दा जान्दै पनि ५/७ करोड तलमाथि भयो होला’, जुनार २० करोडको फल्यो भन्ने सूचना बारेमा बोल्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख गैरेले भने ‘कारोबार १५ करोड जतिको त ! होला ।’
विशेष गरी जिल्लाको कृषि उपजहरू कुन स्थानीय तहमा कति उत्पादन हुन्छ भन्ने यकिन विवरण कुनै पनि कार्यालयसँग अहिलेको अवस्थामा नरहेको भन्दै कृषि विकास कार्यालयका प्रमुख मीनबहादुर पुनले पनि भने ‘केही वर्ष यता यकिन विवरण कसै गरी पनि राख्न सकिएको छैन । कसले लिने धेरै कार्यालयहरू छन् । ती कार्यालय नै पिछे फरक–फरक विवरण छ । कुनलाई आधिकारिक मान्ने यसमा दुबिधा छ ।’
भोला प्रसाद चापागाई,प्रमुख प्रशासकिय अधिकृत ।
स्थानीय तहले आफ्नो पालिका भित्रको सम्पूर्ण विवरण आधिकारिक संकल्न गर्नु पर्नेमा जोड् दिँदै ती सूचना सबै सम्बन्धित कार्यालयहरूलाई प्रदान गर्ने भने कसैको चासो नभएको उनको तर्क छ ।
तर, रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईँले भने स्थानीय तहले आधिकारिक विवरण सङ्कलनमा राखेको हुने जिकिर गरे । कार्यालय प्रमुखहरूले भने जस्तो गम्भीर अवस्था स्थानीय तहको नरहेको तर्क गर्दै प्रशासकीय अधिकृत चापागाईँले भने ‘दिन–दिनै फेरिने प्रकृतिका बाहेकका सूचना हामीसँग सही सूचना छ ।’
विकासे कार्यालयहरूले सबै तथ्याङ्क गलत छन् भन्ने भाष्य प्रयोग गरेपछि प्रशासकीय अधिकृत चापागाईँले त्यसको प्रतिकार समेत गरे ।
यहाँको प्रत्यक्ष सरोकार राख्ने स्थानीय तह, प्रदेश र परियोजना कार्यालयहरूले नै अन्दाजको भरमा कारोबारको मूल्य र लागत तोक्दा वास्तविक किसानलाई भने मार परेको बुझिएको छ ।
‘हामीले कहाँ पुष्टि गर्न जाने । बाहिर जे देखिन्छ त्यसलाई आधार मानेर यतिकै भनेको साँचो हो’ स्थानीय तहमा गए यता यसै गरी सूचना तथा तथ्यहरू संकलन र प्रयोग भइरहेको बताउँदै कृषि विकासका प्रमुख पुनले सुनाए ‘सबैले आ–आफूलाई चाहिने बताउने गरेका छन् । कार्यालय नै पछि फरक छ । कुनलाई विश्वासिलो मान्ने ।’