रामेछाप अस्पतालको सामाजिक परीक्षण: अध्यक्ष भन्छन् ‘कुरा हैन काम गर्छु’ (भिडिओसहित)

| पुस २६, २०८१ शुक्रबार

A A A
A A A

२६ पुस, रामेछाप । जिल्ला अस्पताल रामेछापले बिहीबार सामाजिक परीक्षण सम्पन्न गरेको छ । यो परीक्षणबाट संस्थाको वार्षिक आर्थिक सुशासनसहित सेवा प्रवाहको ‘गहिराइमा’ गएर लेखा जोखा गरिन्छ ।

 

प्रहार मिडिया प्रा.लि.को सहजिकरणमा अस्पतालको सभा हलमा रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने, प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष समीर कार्की, सोही वडाका अध्यक्ष सन्तोष तामाङसहित अस्पताल व्यवस्थापन समितिमा अघिल्लो दिन मात्रै दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेको यम पाख्रिनसहितको उपस्थितिमा आर्थिक वर्ष २०८०/८१ को सामाजिक परीक्षण सम्पन्न भएको हो ।  

 

कुनै पनि संस्थाले वार्षिक रूपमा आफूले प्रवाह गरेका सेवा प्रदायक निकाय वा संस्थाको नीति, नियम, कार्यक्रम कार्यान्वयन, व्यवहार, स्रोत परिचालन, अनियमितता,पारदर्शिता र प्रभावकारिताबारे सेवाग्राही, सेवा प्रदायक/व्यवस्थापकीय पक्ष तथा सरोकारवालाहरूको धारणाका आधारमा गरिने विश्लेषणात्मक लेखाजोखा गर्नु पर्ने व्यवस्था छ । 

 

सो कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. केशव श्रेष्ठले अस्पतालको सेवा प्रवाहबाट प्रवाग्राहीले महसुस गरेका उपलब्धि, अनुभव, बुझाई र दृष्टिकोण थाहा पाउन परीक्षण गरिएको धारणा राखे । आफू आएपछि अस्पतालमा निकै सुधार ल्याएको दाबी गर्दै उनको छ । 

 

त्यस्तै, रामेछाप नगरका प्रमुख न्यौपानेले अस्पतालको दिगो विकासको लागि नगरबाट सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता दोहोर्‍याउँदै अस्पतालले आइ पर्ने समस्याहरूलाई सहजीकरण गर्न सक्नु पर्नेमा जोड् दिए । 

 

नगरका प्रवक्ता कार्कीले अस्पतालले सबैसँग समन्वय र सहकार्य गर्दै काम गर्न आग्रह गरे । रामेछाप अस्पतालमा बिरामी छैनन् भन्ने प्रचारलाई चिर्दै थप भएका सेवा र सुविधा बारे सबैले सकारात्मक तरिकाले प्रचारप्रसार गर्न सक्नु पर्नेमा उनको जोड् छ । अस्पतालको ‘टार्गेट एरिया’ सिन्धुलीको गोलोन्जोर देखि ओखलढुङ्गा तर्फ सीमा क्षेत्रका जनप्रतिनिधि र कार्यालय प्रमुखसहित वृहत् छलफल गर्न आवश्यक रहेकाले अस्पताल व्यवस्थापन समितिले तत्काल सो कार्यक्रम गर्न आग्रह गरे । 

 

अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष (दोस्रो कार्यकाल) युवा नेता पाख्रिनले आफू गफ भन्दा कममा विश्वास गर्ने भएकाले सबै मिलेर काम गर्नु पर्नेमा जोड् दिए । केही सेवाग्राहहरुको गुनासोहरू सुनेको भन्दै चिकित्सकहरूले त्यस्ता गुनासाहरू नआउने गरी काम गर्न आग्रह गरे ।

 

अस्पतालमा बिरामीको चाप बढ्दै गएको उल्लेख गर्दै अध्यक्ष पाख्रिनले सरोकार राख्ने सबैले अस्पतालको व्यवस्थापन र विकासमा जोड् दिनु पर्ने धारणा राखे । अस्पतालका कर्मचारीहरू एकले अर्कालाई दोष देखाउने भन्दा सबै सहकार्य र सिक्दै काम गर्न आग्रह गरे ।