खाँडादेवी गाउँपालिकाको गाउँ सभा पालिका अध्यक्ष श्रेष्ठ ‘निरङ्कुश’ भएको भन्दै वडा अध्यक्षहरूले गरे ‘बहिस्कार’, यस्तो छ कारण ?
०१ माघ, रामेछाप । सोमबार (हिजो) बस्ने तयारी भएको खाँडादेवी गाउँपालिकाको गाउँ सभा पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ र वडा नं ३ भिरपानीका अध्यक्ष पुष्कर कार्कीसहित केही वडा अध्यक्षबिच भएको असन्तुष्टि एवं असहमतिको कारण बस्दै नबसी स्थगित भएको छ । वडा नं ३ को वडा समितिले शतप्रतिशत सहमतिमा पालिकामा पेस गरेको देउराली–सुनार्ख–गोगनपानी सडकमा बजेट रकमान्तर गर्ने विषयमा पालिका अध्यक्ष श्रेष्ठले सहमति नदिने भनेपछि गाउँ सभा बस्न नसकेको गाउँपालिकाका प्रवक्ता समेत रहेका ३ नम्बरका अध्यक्ष पुष्कर कार्कीले रामेछाप टाइम्सलाई बताए । बिहान ११ बजे बोलाइएको गाउँ सभा सदस्यहरूले बहिस्कार गरेपछि बस्न नसकेको हो ।
भिरपानी आपँचौर क्षेत्र हुँदै छिमेकी पालिकाहरू समेत जोड्न सहज हुने उक्त सडक मर्मत गर्नको लागि वडा समितिले आवश्यक प्रक्रिया पूरा गरी गाउँपालिका समक्ष पेस गरेको भए पनि ‘अध्यक्षले आफूले चाहे हुने नत्र वडाले माग गरेर मात्रै बजेट नहाल्ने’ जिकिर गरेपछि वडा अध्यक्ष कार्कीले सभामा बस्न नसक्ने अडान राखेका थिए ।
साँझ सम्म सहमति नभएपछि सभामा प्रवेश नगरी गाउँ सभा स्थगित गरिएको बुझिएको हो ।
वडा अध्यक्ष कार्कीले भने ‘हामीले वडाबाट गरेको निर्णय पालिका अध्यक्षले मैले भनेको ठाउँमा हो, भने हुन्छ नत्र हुँदैन’, गाउँपालिका अध्यक्षले वडा समितिलाई केही होइन भनेको बताउँदै उनले थपे ‘अध्यक्ष स्वइच्छ्यचारी र दम्बले चल्नु भयो ।’
‘वडा समितिलाई पालिका अध्यक्षले केही हैन, मैले चाहे हुन्छ । वडाले चाहेर केही हुन्न भनेपछि सबै वडा अध्यक्षहरू एकातिर भयौँ’ सबै वडा अध्यक्षहरू सभामा बस्न मान्नु भएन, मलाई समर्थन गर्नु भयो गाउँपालिका प्रवक्ता समेत रहेका दोस्रो कार्यकाल वडा अध्यक्षको जिम्मेवारीमा रहेका अध्यक्ष कार्कीले भने ‘पालिका अध्यक्ष निरङ्कुश हुनु भयो’ ।
‘१७ सदस्यीय कार्यपालिकामा १६ जनाले हुन्छ भने तर, अध्यक्षले मात्रै हुँदैन भनेपछि हामी नबसेका हौँ’ अध्यक्ष कार्कीले प्रस्ट पार्दै भने ।
नाम नखुलाउने सर्तमा अर्का वडा अध्यक्षले पनि पालिका अध्यक्ष श्रेष्ठले वडाको निर्णयलाई स्वीकार नगर्दा सभा बस्न नसकेको रामेछाप टाइम्सलाई बताए । ‘वडाले निर्णय गरेर ल्याएको निर्णय मान्दिन भन्नु भयो’ आफूहरूले जनताको माग र आवश्यकताको आधारमा गरेका निर्णय कार्यान्वयन नभएपछि सभा बस्न नसकेको उनको भनाई छ ।
वडा नं २ र ३ का वडा अध्यक्ष क्रमशः केशव कुमार प्रधान, पुस्कर कार्की
सो पालिकामा अध्यक्ष र वडा अध्यक्षहरू बिच लामो समय देखि ‘टकराब’ रहँदै आएको छ । पालिका अध्यक्ष श्रेष्ठ सहभागी हुने कार्यक्रममा वडा अध्यक्षहरू सहभागी नहुने अर्थात् अघोषित रूपमा बहिस्कार गर्दै आएको बुझिएको छ ।
विशेष गरी पालिका अध्यक्ष श्रेष्ठले काम भन्दा बढी प्रचारमा मात्रै जोड् दिएको वडा अध्यक्षहरूको तर्क र आरोप छ । सो विषयमा वडा अध्यक्षहरूले गरेको आग्रहलाई सुनुवाइ नभएपछि उनीहरू अध्यक्षको ‘खिलाप’मा उत्रिएको बुझिएको हो ।
गाउँपालिका अध्यक्ष श्रेष्ठले भने वडा अध्यक्ष पुष्कर कार्कीले विगतको ‘इस्यूलाई’ इगो बनाएर आरोप प्रत्यारोप गर्ने काम गरेको दाबी। रामेछाप टाइम्ससंग कुरा गर्दै गाउँ सभामा बसेको र सबैको सहमतिमा सभा हस्ताक्षरसहित सकिएको पालिका अध्यक्ष श्रेष्ठले जिकिर गरे ।
‘पहिलेको विषयलाई लिएर उहाँले त्यस्तो गर्नु भयो । ३–३ वटा कम्प्युटर किने, घर मुनिको सडकमा बजेट हाल्ने कुराको बारेमा सहमति नदिएपछि नभएको प्रचार गरिएको हो’ वडा अध्यक्ष कार्कीले वडाबाट सहमतिमा ल्याएको भनिएको योजनामा कार्यपालिका सदस्य समेत रहेकी एक सदस्यले हस्ताक्षर समेत नगरेको तर्क गर्दै पालिका अध्यक्ष श्रेष्ठले भने ‘बैठक सबैको सर्व सहमतिमा सकिएको छ । माइन्युट हेर्न सकिन्छ ।’
‘कार्यपालिका बैठक अध्यक्षको चेम्बरमै भएको छ’ अडिओ भिडिओको रेकर्ड समेत रहेको जिकिर गर्दै पालिका अध्यक्ष श्रेष्ठले बताए ‘व्यक्तिगत असन्तुष्टिलाई जोडेर कु प्रचार गरियो ।’
आफू अस्वस्थ रहेको जानकारी गराएका गाउँपालिका अध्यक्ष श्रेष्ठले केही वडा अध्यक्षहरू आफ्नो निर्णयमा साथ दिने रहेको र पार्टीले समेत आफूलाई सहयोग गरिरहेको तर्क थपे ।
वडा अध्यक्ष पुष्करले भने ‘गाउँ सभामा प्रवेशै नगरी हामी उठेर हिँडेका हौँ’, कागज भेटियो भने किर्ते गरेको हुनसक्छ भने।
दसैँ पछि बल्ल कार्यपालिका बैठक बसेको त्यो पनि विषयमा राम्रो छलफल नहुँदै अवरोध भएको अर्का वडा अध्यक्षको भनाई छ ।