बितेको ५ वर्षमा रामेछापमा उद्योग खोल्ने भन्दा बन्द गर्ने ५ गुणाले बढे
८ माघ, रामेछाप । रामेछापमा पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा उद्योग खोल्ने (नयाँ दर्ता) गर्ने भन्दा बन्द गर्ने पाँच गुणाले बढेको पाइएको छ । चालु आर्थिक वर्षको छ महिना सम्म आइपुग्दा उद्योग खोल्नेको भन्दा बन्द गर्नेको संख्या बढी देखिएको उद्योग वाणिज्य कार्यालय रामेछापले जनाएको हो ।
२०७५/०७६ मा ५३४ वटा नयाँ उद्योग दर्ता भएकोमा त्यस पछिका वर्षमा नयाँ उद्योग दर्ता हुने क्रम निरन्तर ओरालो लागेको उद्योग वाणिज्य कार्यालय रामेछापका प्रमुख प्रमोद सिंखडाले रामेछाप टाइम्सलाई बताए । ‘अहिले त खोल्ने भन्दा बन्द गर्नेको संख्या बढेका छन् ।’
उनका अनुसार अघिल्लो वर्षको तुलनामा २०७६/०७७ मा ४४१ वटा मात्रै नयाँ उद्योग दर्ता भएकोमा त्यसको पछिल्लो ०७७/०७८ मा वर्ष झनै घटेर ३०९, ०७८/०७९ मा २१२, ०७९/०८० मा १७४ र गत आर्थिक वर्ष २०८०/०८१ मा ९९ वटा मात्रै उद्योग नयाँ दर्ता भएका छन् । यी ५ वर्षमा नवीकरण गर्नेको संख्या भने उल्लेख्य बढेको पाइएको छ ।
०७५/०७६ मा २३९ वटा उद्योग नवीकरण भएकोमा त्यसपछि निरन्तर एक वर्ष घटेर ०७६/०७७ मा १९७ वटा मात्रै उद्योग नवीकरण भएकोमा त्यसपछि भने ०७७/०७८ मा २७१, ०७८/०७९ मा ३०६, ०७९/०८० मा ४२४ र ०८०/०८१ मा ह्वात्तै बढेर ४४२ वटा सम्म उद्योग नवीकरण भएको कार्यालय प्रमुख सिंखडाले जानकारी दिए ।
वाणिज्य तर्फ पनि यो पाँच वर्षमा नयाँ दर्ता भन्दा नवीकरण गर्नेको संख्या सकारात्मक देखिएको छ । वाणिज्य तर्फ पनि ०७५/०७६ मा ३०९ वटा नयाँ उद्योग दर्ता हुँदा २८७ वटा नवीकरण भएको छन् ।
त्यस्तै ०७६/०७७ मा ३४४ वटा वाणिज्य उद्योग दर्ता हुँदा २४५ वटा नवीकरण, त्यसपछिको वर्षमा ९२ वटा नयाँ दर्ता हुँदा ३५६ वटा नवीकरण भएको तथ्याङ्कले देखाउँछ ।
वाणिज्य तर्फ पनि नयाँ दर्ता क्रमशः घटेर गत वर्ष सम्म आउँदा ३७ मा झर्दा नवीकरण भने बढेर ४६१ वटा सम्म पुगेको कार्यालयका सूचना अधिकारी निरोज खड्काले बताए ।
चालु आर्थिक वर्षको ६ महिना सम्मको तथ्याङ्कलाई हेर्दा पनि उद्योग खोल्नेको भन्दा बन्द गर्नेको संख्या बढेकाले आगामी दिनमा उद्योग वाणिज्य क्षेत्रमा ठुलो चुनौती देखिएको कार्यालयको विश्लेषण गरेको छ । ‘यस्तै अवस्था हो भने आगामी दिनमा उद्योगको क्षेत्रमा ठुलो समस्या आउने देखिन्छ’ कार्यालय प्रमुख सिंखडाले समस्या समाधानमा सबैको ध्यान जानु पर्ने र भएका उद्योगहरूलाई टिकाउन मन्त्रालयहरूले कार्यक्रम थप गर्ने मागमा आधारित कार्यक्रम ल्याउने र उद्योगको बजेट बढाउनु पर्ने भन्दै थपे ‘उद्योगको बजेट लाखमा आउने हो भने देश विकास हुन सक्दैन ।’
प्रमोद सिंखडा, उद्योग वाणिज्य कार्यालय प्रमुख, रामेछाप, तस्बिर मिलन घिमिरे ।
मन्थलीमा बागमती प्रदेशको उद्योग मन्त्री शुक माया तामाङ र उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठसहितको उपस्थितिमा प्रदेको मन्त्रालयले आयोजना गरेको उद्योग वाणिज्यका सरोकारवालाहरूको अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यालय प्रमुख सिंखडाले उद्योग क्षेत्रमा सरकारले छुटाउने बजेटले उनीहरू निराशा बनेको उल्लेख गर्दै त्यसलाई तत्काल सुधारेर जानु पर्नेमा मन्त्रीको ध्यानाकर्षण समेत गरे ।
उद्योग बन्द गर्छु भनेर कार्यालय धाउनेहरूको लर्को लाग्ने गरेको सुनाउँदै उनीहरूलाई स्थानीय र प्रदेश सरकारले नयाँ योजनाका साथ प्रेरित गर्न सक्नु पर्नेमा जोड् दिए ।