रामेछापमा धमुधामसहित तामाङ समुदायले मनाए सोनाम ल्होच्छार

| माघ १७, २०८१ बिहिबार

A A A
A A A

१७ माघ, रामेछाप । रामेछापमा तामाङ समुदायले धूमधामसहित सोनाम ल्होच्छार पर्व मनाएका छन् । तामाङ भेषभूसामा सजिएर एक अर्कामा शुभकामना आदान प्रदानसहित नाचगान र औपचारिक कार्यक्रम गरी पर्व मनाएका हुन् । 

 

बिहीबार जिल्ला सदरमुकाम मन्थलीमा तामाङ समुदायले भेष भूषामा सजिएर बाजा गाजासहित मन्थली बजारमा र्‍याली एवं झाँकी पर्दशन गरे । साथै, हिजो (बुधवार) देखि सुरु भएको रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला पर्दशनीमा उनीहरूले तामाङ नृत्यसहित विभिन्न कला पर्दशनी गरेका हुन् । 

 

मञ्जुश्री संवत् २८६१ लागेको अवसरमा उनीहरूले धूमधामसहित पर्वलाई स्वागत गरेका हुन् । तामाङ घेदुङ् रामेछाप, ताम्बा संघ रामेछापसहित विभिन्न जातीय संस्थाहरूको संयुक्त आयोजनामा मन्थलीमा वृहत् कार्यक्रम गरिएको हो । 

त्यस्तै, रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुरमा रामपुर तामाङ समाजको आयोजनामा भव्य औपचारिक कार्यक्रमसहित ल्होच्छार मेला मनाइएको छ । 

 

सुनापति र दोरम्बा शैलुङ् गाउँपालिकाले भोलि (शुक्रवार) समेत पालिका भर बिदा दिएर ल्होच्छार मेला मनाउँदै छन् । त्यहाँ विभिन्न स्थानमा धार्मिक एवं सांस्कृतिक कार्यक्रम भइरहेको छ । जिल्लाको कूल जनसंख्याको झण्डैं ३३ प्रतिशतको हाराहारीमा रहेको तामाङ समुदायले आफ्नो संस्कृति र परम्परालाई जगेर्ना गर्न पछिल्लो समय विभिन्न कार्यक्रमहरू गर्दै आएका छन् ।