रास्वपा रामेछाप नगर सभापतिमा बस्नेत,  नेता भन्छन् ‘पार्टीमा जोडिन धेरै खोज्छन् तर, खै ‘डराउने रहेछन्’

| माघ १९, २०८१ शनिबार

A A A
A A A

१९ माघ, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछाप नगरपालिकाको सभापतिमा दुर्गाबहादुर बस्नेत सर्व सहमतिले चयन भएका छन् । जिल्लामा संगठन विस्तारमा जुटेको रास्वपा रामेछापले शनिवार पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकामा नगर भेला गरेको थियो ।

 

सो, भेलाले यस अगाडि देखि नै रास्वपामा जोडिएका बस्नेतलाई सभापति बनाएको पार्टी जिल्ला उपसभापति मोहन कार्कीले रामेछाप टाइम्सलाई बताए । ‘उहाँ पहिलेदेखि चिनिँदै आउनु भएको थियो ।’

 

पहिलो भेलाले बस्नेतको नेतृत्वमा ३ सदस्यीय नगर समिति गठन गरेको उनको भनाई छ । रास्वपाका केन्द्रीय संगठन विभाग सचिव शंकर श्रेष्ठ र जिल्लाका सभापति, उपसभापति लगायतका नेताहरूको उपस्थितिका बिच भएको भेलाले नगर उप सभापतिमा रमा हायु, सचिवमा बुद्धिराज श्रेष्ठलाई चयन गरेको छ । 

 

रास्वपाका एक नेता भन्छन् ‘पार्टीमा जोडिन धेरैले खोजेका छन् । तर, केही प्राविधिक कुराले गर्दा धेरै जना ‘डराउने रहेछन्’ । समय अनुसार जोडिनेको क्रम बढ्दो छ ।’

 

यस अगाडि मन्थली नगरपालिकाको कार्यसमिति गठन गरेको रास्वपाले रामेछाप नगरको कोषाध्यक्षमा अम्बिका तामाङलाई जिम्मेवारी दिएको छ । 

 

युवा र स्वच्छ छवि भएका, जन सम्पर्क बढी बनाएका एवं नागरिकले रुचाउने सामाजिक व्यक्तिहरूलाई केन्द्रित गर्दै सङ्गठनमा जोड्दै लगेको रास्वपाले नगरमा रामकुमार श्रेष्ठ, सानी माया तामाङ र ज्ञानबहादुर श्रेष्ठलाई सदस्यमा राखेको छ । 

 

‘जान्नेलाई छान्ने’ नारासहित संगठन विस्तारमा होमिएको रास्वपाका नेता कार्यकर्ताहरू ०८४ को निर्वाचन सम्म पुग्दा पार्टी बलियो बन्ने दाबी गर्छन् । जिल्लाबाट करिब दुई हजार जनाले अनलाइन मार्फत पार्टीको क्रियाशील सदस्यता लिई सकेको भन्दै जिल्लामा पार्टी निकै दरिलो हुने रास्वपाका नेताहरूको दाबी छ । 

 

स्रोतका अनुसार रास्वपा रामेछापले रामेछाप नगरमा संगठन विस्तारलाई निकै चुनौतीको रूपमा लिएको थियो । सोही अनुसार यस अगाडि तयारी नपुगेको भन्दै कार्यक्रम सार्दै आएको थियो । 

 

नेपाली काँग्रेसको बलियो संगठन र संगठित सदस्य भएको गढ्को रूपमा बुझिने रामेछाप नगरमा आफ्नो पार्टीको संगठन विस्तार गर्न रास्वपाका नेताहरूले एक हप्तादेखि वडा वडा पुगेर प्रचारप्रसार समेत गरेका थिए ।