चैतमा जिल्ला अधिवेशन गर्दै रास्वपा रामेछाप, नेतृत्व लिन दौड धूप बढाउँदै नेताहरू

| माघ २१, २०८१ सोमबार

रामेछाप नगर समिति गठन गर्न प्रचारप्रसारमा रास्वपाका नेताहरु । तस्बिर स्रोतः रमेश रायमाझी ।
A A A
A A A

२१ माघ, रामेछाप । केन्द्र देखि ‘जान्नेलाई छान्ने’ नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछापको जिल्ला नेतृत्व लिन नेताहरूको दौड धूप बढेको छ । त्यसैको लागि जिल्ला र गाउँ–टोलमा बिरलै देखिने (रास्वपा) का युवा नेताहरू यति बेला टोल, बस्ती–बस्तीमा को चाँडो पुग्ने भन्ने होडबाजीमा देखिन्छन् । 

 

पछिल्लो पटक शनिवार मात्रै पुरानो सदरमुकाम रामेछाप नगरपालिकामा पदाधिकारीसहित ३ सदस्यीय नगर समिति गठन गरेर आठ वटै पालिकाको नेतृत्व टुङ्गो लगाएको (रास्वपा) रामेछाप अब उमाकुण्ड गाउँपालिकामा वडा तहको समिति विस्तार गर्ने तयारीमा छ । त्यसको लागि पालिकाका सभापति नवराज बस्नेतले मिति नै तोकेर वडा समिति विस्तार गर्न लागेको जानकारी गराइसकेका छन् । 

 

आउँदो चैतमा जिल्ला अधिवेशन गर्ने तयारी स्वरूप (रास्वपा) का नेताहरूले पालिका स्तरको नेतृत्व टुङ्गो लगाएर जिल्लामा सक्षम र पार्टी चलायमान बनाउने नेतृत्वको दाबीसहित दौड धूपमा लागेको बुझिएको छ । 

 

रास्वपाले उमाकुण्डमा पार्टीको संगठन जिल्लाकै सबै भन्दा बलियो रहेको दाबीसहित वडा तह सम्मै समिति बिस्तारमा लागेको दाबी गरिरहेको छ । जसअनुसार उसले ७ वटै वडामा आफ्नो समिति विस्तार गर्दै छ । वडा नं १ गुम्देलमा फागुन ७ गतेदेखि सुरु गरेर फागुन १३ गते ७ नम्बर भुजीमा समिति विस्तार गर्ने तयारी पूरा भएको रास्वपा उमाकुण्डका सभापतिको भनाई छ । 

मन्थली नगर भेलामा उपस्थित रास्वपाका नेताहरु । तस्बिरः मिलन घिमिरे/ रामेछाप टाइम्स । 

 

रामेछाप टाइम्सले केही दिन सो पार्टी निकट गरेको अनुसन्धानबाट पछिल्लो पटक रामेछाप नगर समिति विस्तारमा (रास्वपा) ले निकै ठुलो ‘चुनौती फेस गर्नु परेपछि’ अब भने उसले समिति विस्तार कार्यक्रमको रणनीति नै परिवर्तन गर्ने सङ्केत समेत गरेको छ । पूर्व निर्धारित कार्यक्रम राख्दा विभिन्न बहाना बाजी गरेर समितिमा बस्ने मान्छेलाई कार्यक्रममा पुग्नै रोक्ने स्थिति देखिए पछि (रास्वपा) ले अब समिति विस्तारपछि मात्रै कार्यक्रमको बारेमा सार्वजनिक गर्ने रणनीतिमा लागेको जानकारी प्राप्त भएको हो । ‘पहिले हल्ली–खल्ली गर्दा बस्छु भन्ने मान्छेलाई रोक्ने, उनीहरू बिरामी भएको बहाना गर्ने जस्ता विविध कारण हुने रहेछ । अब कार्यक्रम भएपछि मात्रै सार्वजनिक गर्छौँ’ नाम नखुलाउने सर्तमा एक नेताले भने । 

 

६४ वटै वडामा समिति विस्तार सकेर आउँदो चैतमा जिल्ला अधिवेशन गर्ने तयारीमा रहेको (रास्वपा) रामेछापका नेताहरू जिल्ला सभापति हुन वडा तहको समिति विस्तारमा जुटेको र खटेको देखाउनु पर्ने बाध्यतामा छन् । यसले गर्दा पनि उनीहरू काठमाडौँमा रहँदा पनि विभिन्न राजनीतिक दलमा आबद्ध नेता, कार्यकर्ताहरूलाई फकाउन लागिको देखिन्छ । 

 

सामाजिक संजालमा लोक प्रिय मात्रै भएर हुँदैन रहेछ । जनताले चिनेको र पत्तयाउने मान्छे पार्टीलाई चाहिएको छ, ती नेता भन्छन् ।

 

जिल्लाको नेतृत्वको लागि आकाङ्क्षीहरू बढ्दै जानु र कार्यकर्ताहरूले पार्टीलाई चलायमान बनाउने नेतृत्वको खोजी गर्दा संगठन विस्तारमा को बढी लागेको छ भनेर कार्यकर्ताको मन जित्नु नेताहरूलाई आवश्यक छ । पालिका र वडा समिति विस्तारमा खटेर आफ्नो सक्रियता देखाउने मौकासहित यति बेला नेताहरूले दौड धूप बढाएको स्रोतले रामेछाप टाइम्सलाई बताएको छ । त्यसको फाइदा भने पार्टीलाई पुगेको देखिन्छ । गाडी नै रिजर्भ गरेर माइकिङ सहित एक हप्तादेखि वडा–वडामा पुगेर नेताहरू पालिका स्तरीय समिति गठनमा जुटेको देखियो । त्यो उनीहरूको कार्यकर्ताको मन जित्ने रणनीति हो ।  

 

पुराना दलबाट कार्यकर्ता तान्ने र सङ्गठनलाई बलियो देखाउने दाउमा रास्वपाका नेताहरूको जोड् बल रहेको देखिन्छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित राप्रपा लगाएका दलका बलिया कार्यकर्ता आफूतिर आकर्षित गरेर रास्वपालाई बलियो पार्टीको रूपमा देखाउन रास्वपाका नेतृत्व तहमा रहेका नेताहरूलाई जिम्मेवारी कै रूपमा रहेको नाम नखुलाउने सर्तमा एक नेता सुनाउँछन् । ‘ठुला पार्टीका २/४ जना राम्रा मान्छे ल्याउन विभिन्न चरणमा छलफल भइरहेको छ’ उनी भन्छन् । 

 

(रास्वपा) को जिल्ला नेतृत्व पाउन पनि सो विषयलाई नै प्राथमिकता दिएको बुझिएको छ । ‘जसले पार्टीमा राम्रा मान्छे भित्र्याउँछ, चलायमान रूपमा सङ्गठनलाई अगाडि बढाउन सक्छ, त्यस्ता मान्छेलाई नेतृत्व दिनु पर्छ’ त्यो आजको आवश्यकता बनेको छ’ ती नेताको भनाई छ । सामाजिक संजालमा लोक प्रिय मात्रै भएर हुँदैन रहेछ । जनताले चिनेको र पत्तयाउने मान्छे पार्टीलाई चाहिएको छ, ती नेता भन्छन् ।

 

पार्टी चलाउन आर्थिक, सामाजिक र व्यक्तिगत रूपमा स्वच्छ छवि भएको असल मान्छेको आवश्यकता (रास्वपा) का नेताहरूले आवश्यक ठानेका छन् । त्यसमा केही व्यक्तिहरू छन्, ती नेताको भन्छन् । केन्द्रले पार्टीको विधान संशोधन गरेर पठाइसकेकाले अब आउने जिल्लाको नेतृत्व ५ वर्ष सम्म काम गर्न पाउने हुनाले पनि  सभापति को बन्ने भन्नेमा दौडधुप बढाएको पाइन्छ । क्रियाशिल सदस्य बढाउने, सहकार्य र छलफलसंगै जनताको नजरमा परेका व्यक्ति जोड्दै लाने तयारीमा (रास्वपा) लागेको नेताहरुको भनाई छ । 

 

बागमती प्रदेशको सदस्य एवं जिल्लाको संयोजक समेत बनेर हाल जिल्ला सभापति रहेका रमेश रायमाझीले लगायतले पार्टीलाई जुन रूपमा अगाडि बढाउनु पर्ने र जिल्लामा ‘परिचित हुनु’ पर्ने त्यो गर्न नसकेको भनेर ‘एक टिम’ ले कार्यकर्ता तहमा छलफल चलाइरहेको समेत बुझिएको छ । 

 

रायमाझी आफै पनि सभापति दोहोर्‍याउने मुड्मा देखिँदा नेतृत्वको लागि नेकपा (माले) छोडेर सिँधै उपसभापति बनेका महोन कार्की लगायतका नेताहरू जिल्ला नेतृत्वको लागि लागि परेको बुझिएको छ ।