प्रदेश जनता आवास कार्यक्रम : आवास निर्माणको लागि हाल सम्म कुनै सरकारी सेवा नलिएकाले तत्काल ४ लाख प्राप्त गर्ने

२८ माघ, रामेछाप । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको सहरी विकास तथा भवन कार्यालय सिन्धुली र रामेछापले विपत्ति परिवारलाई आवासको लागि राहत प्रदान गर्ने कार्य अगाडि बढाएको छ । त्यसको लागि आवश्यक कार्यविधि बनाएर हाल सम्म आवासको लागि कुनै पनि क्षेत्रबाट आर्थिक एवं प्राविधिक सहयोग नपाएकाहरूलाई तत्काल चार लाख सम्म आर्थिक सहयोग गर्न लागेको कार्यालयका प्रमुख दुर्गा प्रसाद घिमिरेले जानकारी दिए ।
आइतबार मन्थलीमा पत्रकारहरुसंग कुराकानी गर्दै कार्यालय प्रमुख घिमिरेले हाल सम्म भूकम्पको लाभग्राही नपरेको र घर तथा आवासको लागि कुनै पनि ठाउँमा जग्गा नभएका व्यक्तिका परिवारलाई तत्काल राहत उपलब्ध गर्न तयार रहेको बताएका हुन् । जसले अहिले सम्म कतैबाट घर निर्माण एवं आवासको लागि सरकारी सेवा सुविधा प्राप्त गरेका छैनन् त्यस्ता व्यक्तिलाई हामी ४ लाख सम्म एकै पटकमा सहयोग गर्छौँ’ ।
त्यसको लागि स्थानीय तहहरूसँग समन्वय गरेर कार्य अगाडि बढी सकेको सुनाउँदै हाल सम्म उमाकुण्ड गाउँपालिकाबाट १ जना, गोकुलगंगा गाउँपालिकाबाट ४४ जना र रामेछाप नगरपालिकाबाट ८० जनाले दाबी गरेको जानकारी दिए । त्यो विवरण भने प्रारम्भिक रहेको कार्यालय प्रमुख घिमिरेको भनाई छ । ‘यसरी दाबी धेरैले गरे पनि त्यो विवरण आधिकारिक हैन, हामी थप बुझेर काम गर्छौँ’ ।
त्यस्तै, मन्थली नगरपालिकाबाट आइतबार मात्रै ६४ वटा दाबीसहितको विवरण प्राप्त भएको घिमिरेको भनाई छ । त्यसको लागि आइतबार जिल्ला समन्वय रामेछापमा सरोकारवालासँग बैठक समेत राखेर समितिले २ बुँदे निर्णय समेत गरेको छ ।
प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश जनता आवास कार्यक्रम कार्यविधि–२०८० को दफा ३ को उपदफा १ मा व्यवस्था भए बमोजिम आवास विकासका लागि छनौट समिति गठन गरेर लाभग्राहीहरूलाई तत्काल सेवा गर्न लाग्ने निर्णय गरेको हो ।
‘यो काम निकै महत्त्वपूर्ण छ । जनताको हितमा छ । कार्यालयले जतिसक्दो चाँडो काम गरोस्’ कार्यालयका कर्मचारीलाई निर्देशित गर्दै सांसद श्रेष्ठले भने ।
आवास निर्माणको लागि ४ लाख सम्म प्राप्त गर्न सक्ने जानकारी पछि धेरै जसो झुट्टा विवरण पेस गरी रकम लिन खोज्नेहरू देखिएपछि भने त्यसलाई थप कडाइ गर्नु पर्ने देखिएको कार्यालय प्रमुख घिमिरेले तर्क गरे । साथै, खरले छाएका घरहरुको लागि समेत सहयोग गर्ने कार्यक्रम रहेको बताइएको छ ।