१२ औँ राष्ट्रपति रनिङ शिल्डमा मन्थली नगर ‘च्याम्पिएन’, उमाकुण्ड दोस्रो

३० माघ, रामेछाप । १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ । उसले उमाकुण्ड गाउँपालिकालाई पछि पार्दै उपाधि हासिल गरेको हो । यस अगाडि उमाकुण्ड गाउँपालिकाको प्रितीमा सम्पन्न ११ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पनि १६ वटा स्वर्णसहित जितेको थियो । सह-आयोजक उमाकुण्ड गाउँपालिकालाई नै हराउँदै ११ औं राष्ट्रपति रनिङ शिल्ड उचालेको थियो ।
गएको सोमबार देखि जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजना र मन्थली नगरपालिकाको व्यवस्थापनमा सुरु भएको रनिङ शिल्डमा २२ स्वर्ण, २३ रजत ३२ कांस्यसहित कुल ७७ पदक जितेर जिल्ला सदरमुकाम मन्थलीले नगद ३० हजारसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता खेलाडीहरूलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीसहित मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, रामेछाप नगरका प्रमुख लवश्री न्यौपाने, उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार, मन्थलीकी उपप्रमुख इश्वरी बस्नेत, उमाकुण्डकी उपाध्यक्ष सावित्री सुनुवार लगाएत वडा अध्यक्षहरुको उपस्थितिका बिच पुरस्कार राशी प्रदान गरिएको थियो ।
त्यस्तै, उपविजेता विजेता बन्न सफल जिल्लाकै दुर्गम क्षेत्र भनिएको उमाकुण्ड गाउँपालिकाले २१ स्वर्ण, १२ रजत, ११ कांस्यसहित ४४ पदक हात पारेको छ । यो पालिकाले खेलकुद क्षेत्रमा निकै प्रगति गरेको पाइएको हो । उसले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
जिल्लाका ८ वटा सहभागी जिल्ला स्तरीय रनिङ शिल्डमा लिखु तामाकोशी गाउँपालिकाले ८ स्वर्ण, ६ रजत, १२ कांस्य गरी कुल २६ पदक हात पारेको छ ।
जिल्लाको अर्को दुर्गम पालिकाबाट परिचित पश्चिमी रामेछाप दोरम्बा शैलुङ् गाउँपालिकाले ६ स्वर्ण, ९ रजत, १८ कांस्यसहित ३३ पदक जित्दै नगद १० हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णु श्रेष्ठले जानकारी दिए ।
विगतका वर्षाहरूको भन्दा कमजोर साबित भएको रामेछाप नगरपालिकाले ५ स्वर्ण, ९ रजत, १८ कांस्यसहित ३२ वटा पदक जितेर सान्त्वना बनेको छ । उसले नगद ५ हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ६६ वटा स्वर्ण सहित रजत र कांस्य पदकका लागि भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो, उसु र कराँते विधामा ७३९ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
बुधवार सम्पन्न भएको रनिङ शिल्ड कार्यक्रममा १३ औँ रनिङ शिल्ड कार्यक्रम जिल्ला कै खाँडादेवी गाउँपालिकामा हुने जानकारी गराइएको छ ।
कुन पालिकाले कति पदक हात पारे हेर्नहोस्