सभापति ‘कान्छाराम’ ले रामेछापको जनहितमा काम गरेको भन्दै सुनुवार समाजका केन्द्रीय अध्यक्षसहित एक सय जना नेपाली काँग्रेसमा प्रवेश

३० माघ, रामेछाप । सुनुवार समाजका केन्द्रीय अध्यक्ष तथा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य अमृतबहादुर सुनुवारसहित विभिन्न पार्टीका दर्जनौँ नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको उमाकुण्ड, गोकुलगंगा र लिखु तामाकोशी गाउँपालिकाका एक सय जनाको पार्टी सदस्यता नै काटेर प्रवेश गराइएको नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य दीपेन्द्र खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘१०० जनाको सदस्य नै काटेर प्रवेश गराइएको छ । अझै, दुई दर्जनको जति प्रवेश गर्दै छन् ।’
बुधवार पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जिल्ला पार्टी सभापति एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को विशेष पहलमा (जसपा) केन्द्रीय सदस्य सुनुवारसहित उमाकुण्ड गाउँपालिकाका करिब ४५, गोकुलगंगा गाउँपालिकाबाट ३० र लिखु तामाकोशी गाउँपालिकाबाट २५ जना विभिन्न पार्टी परित्याग गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेको नेता खड्काले जानकारी दिएका हुन् ।
पार्टी सभापति ‘कान्छाराम’ तामाङले जिल्लाको लागि जनताले चाहे अनुसारको काम–दिनरात खटेर गरेको र पर्याप्त बजेट पार्न सफल भएको, सुनकोसीमाथि ‘१० दिनमै पुल’ जोडेर विपद्मा उदाहरणीय काम गरेको भन्दै उनीहरू नेपाली काँग्रेस प्रति आकर्षित भएर पार्टीमा प्रवेश गरेको ‘प्रवेशीहरुले’ बताएको नेता खड्काले सुनाए । अरुले भाषण र आश्वासन मात्रै दिने तर कान्छाराम र नेपाली कांग्रेसले कामै गरेर देखाउने भएकाले यो पार्टी रोजेको उनीहरुको भनाई थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका युवा नेता एवं वरिष्ठ उपाध्यक्ष दशराम सुनुवार, (ज.स.पा.) केन्द्रीय सदस्य सुनुवार, (स.से.स.) पूर्व अध्यक्ष तथा (ज.स.पा.) को केन्द्रीय परिषद् सदस्य मनप्रसाद सुनुवार, (ज.स.पा.) को महिला केन्द्रीय सदस्य तथा (सु.से.स) केन्द्रीय सह कोषाध्यक्ष लुकमाया सुनुवार, (जसपा) रामेछाप जिल्ला सचिव प्रसाद सुनुवार लगायतका १०० सय जना प्रवेश गरेको जिल्ला कार्यसमिति सदस्य खड्काले जानकारी दिएका हुन् ।
काँग्रेस रामेछापका नेताहरूको बाक्लो उपस्थितिका बिच केन्द्रीय सभापति देउवाले उनीहरूलाई खदाओडाएर स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरेका थिए । सोही अवसरमा प्रवेश गरेकाहरुले पार्टीलाई थप सशक्त बनाउन लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
जिल्लामा आफूले जनहितमा काम गरेको जिकिर गर्दै रामेछापलाई काँग्रेसमय बनाउने अभिव्यक्ति बेला–बेलामा दिँदै आएका सभापति तामाङले केही दिन अगाडि ५ सय हाराहारीमा विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्न लागेको धारणा सार्वजनिक गरेका थिए ।