‘शिक्षा ऐन ल्याउनु’ पर्ने मागसहित जिल्लाका आठ वटै पालिकालाई शिक्षक महासंघले बुझायो ध्यानाकर्षण पत्र

६ फागुन, रामेछाप । नेपाल शिक्षक महासंघ रामेछापले तत्काल ‘शिक्षा ऐन ल्याउनु’ पर्ने मागसहित आठ वटै पालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । माग पुरा नहुँदा सम्म आफ्नो आन्दोलन नरोकिने महासंघको चेतावनी छ ।
मंगलबार महासंघका पालिका स्तरीय समितिहरूले स्थानीय तहका प्रमुखहरूलाई केन्द्रको सर्कुलर अनुसार सबै स्थानीय तहमा गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्ध र शिक्षक÷कर्मचारीका पेसागत माग मुद्दा सम्बोधन गराउन लागि परेको स्मरण गराउँदै २०७५, ०७८ र ०५० सालमा सञ्चालित आन्दोलनको बलमा सरकारसँग भएका महत्त्वपूर्ण सहमतिहरू भएको र ती सबै सहमति सम्बोधन नभएको भन्दै तत्काल कार्यान्वयन गर्ने गरी शिक्षा ऐन जारी गर्नु पर्ने माग गरेको हो ।
जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठलाई नगर समितिले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ‘शिक्षा ऐन जारी गर्ने कामबाट राज्य अझै अनेक बहाना गरी भाग्ने प्रयत्नमा रहेको देखिन्छ ।’
तस्बिर स्रोत उमाकुण्ड शिक्षा शाखा
विद्यालय शिक्षा ऐन संसदीय प्रक्रियामा रहेकै वेला ऐनले सम्बोधन गर्नुपर्ने भन्दै आम शिक्षकको भावना विपरीत निवृत्तिभरण सम्बन्धी अध्यादेश जारी हुनुले सो कुरालाई पुष्टि गरेको महासंघले ठहर गरेको छ ।
उसले विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी, शिक्षक/कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउन अब आन्दोलन जानु बाहेक कुनै विकल्प जिकिर गर्दै माघ १६ र १७ गते बसेको राष्ट्रिय समितिको बैठकको निर्णय आन्दोलन अगाडि बढाएको समेत जानकारी गराएको छ ।
माग सम्बोधन नभए चरणबद्ध आन्दोलन अघि बढ्ने चेतावनी दिँदै आगामी चरणमा अबरोधात्मक, अबज्ञा (बहिष्कार) र काठमाडौँ केन्द्रित सडक आन्दोलनका कार्यक्रमहरू गर्ने समेत चेतावनी दिइएको छ ।
मन्थली नगरपालिकाको महाशाखा प्रमुख हेमन्त बुढाथोकी, शिक्षा शाखा प्रमुख विष्णु अधिकारीसहितको उपस्थितिमा नगर प्रमुख लव श्रेष्ठ मार्फत बुझाइएको पत्रमा भनिएको छ ‘महासङ्घले गर्ने आन्दोलन विद्यालय शिक्षा ऐन जारी नभएसम्म रोकिने छैन ।’