उमाकुण्ड गाउँपालिकाले जित्यो जिल्लाकै सर्वाधिक राशिको प्रथम अन्तरपालिका स्तरीय महिला भलिबको उपाधि

९ फागुन, रामेछाप । दोरम्बा शैलुङ् खेलकुद विकास समितिद्वारा आयोजित महिला तर्फको जिल्ला कै सर्वाधिक पुरस्कार राशिको भलिबलको उपाधि उमाकुण्ड गाउँपालिकाले जितेको छ । उमाकुण्डले आयोजक समेत रहेको दोरम्बा शैलुङ् गाउँपालिको टिमलाई पछि पार्दै १ लाख नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र जित्दै इतिहास रचेको छ ।
बिहीबार सम्पन्न खेलमा विजेताहरूलाई दोरम्बा शैलुङ् गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीसहितको उपस्थितिमा पुरस्कार प्रदान गरे ।
दुई दिने पहिलो अन्तर पालिका स्तरीय भलिबल प्रतियोगितामा आयोजक दोरम्बा शैलुङ् गाउँपालिकासहित ७ टिमको सहभागिता रहेको थियो । जसमा खाँडादेवी गाउँपालिकाको टिम तेस्रो हुँदै भएको छ । उपविजेता दोरम्बा शैलुङ् गाउँपालिकाले नगद ७० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको पालिका खेलकुद विकास समितिका अध्यक्ष इन्द्र रजन मगरले रामेछाप टाइम्सलाई जानकारी दिए ।
तेस्रो भएको खाँडादेवि गाउँपालिकाले नगद ४० हजार र सान्त्वना भएको लिखु तामाकोशी गाउँपालिकाले २० नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
जिल्लामै पहिलो पटक सर्वाधिक राशिको महिला भलिबल आयोजना गरेको दोरम्बा खेलकुद विकास समितिले ४ लाख बजेटमा पालिकाको केन्द्र टोकरपुरमा खेल खेलाएको थियो ।