तीनलाल स्मृति कप अण्डर–२० को उपाधि न्यूस्टारलाई पछि पार्दै रामेछाप देउरालीले जित्यो (भिडिओसहित)
नेविसंघ खेलबाटै ‘आउट’
१२ फागुन, रामेछाप । गएको शुक्रवार देखि मन्थलीमा सुरु भएको तीनलाल स्मृति कप–२०८१ अण्डर–२० खुल्ला पुरुष भलिबलको उपाधि रामेछाप नगरपालिका वडा नं २ देउरालीको टिमले जितेको छ । उसले मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरको टिम न्यूस्टारलाई २५–१३ र २५–२३ को सोजे सेटमा पछि पार्दै उपाधि हात पारेको हो । (नेसिवंघ) भने खेलबाटै आउट हुन पुगेको छ ।
विजेता देउरालीले प्रथम पुरस्कार नगद ५० हजारसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता न्यूस्टारले नगद ३० हजारसहित शिल्ड, ट्रफि, मेडल प्राप्त गरेको छ ।
विजेताहरूलाई आयोजक नेकपा (एमाले) को भातृसंगठन (अनेरास्ववियु) रामेछापका जिल्ला अध्यक्ष पुष्कर भट्टराईसहित संगठनका केन्द्रीय अध्यक्ष समिक बडाल, प्रदेश सांसद एवं एमाले प्रदेश कमिटीका सदस्य आनन्द कुमार श्रेष्ठ, एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम करियासहितका नेताहरूले पुरस्कार प्रदान गरे ।
(नेविसंघ) रामेछापसहित १६ टिमको सहभागिता रहेको सो प्रतियोगितामा नेविसंघ र देउरालीको टिम फाइनल पुगेका थिए । तर, फाइनल खेल्नु अगाडि (नेविसंघ) को खेलाडी विरुद्ध २० वर्ष माथिको खेलाडी रहेको भन्दै उजुरी परेपछि (नेविसंघ) को टिम खेलबाट ‘आउट’ गरिएको आयोजकले उद्घोष गरेको थियो । ‘आयोजकले प्रक्रिया अनुसार निर्णय गरेको छ’, (नेविसंघ) ले फाइनल खेल्न नपाउने जानकारी गराउँदै (अनेरास्ववियु) का अध्यक्ष पुष्कर भट्टराईले भने ‘उजुरी परेपछि छानबिन गर्दा एक खेलाडीको उमेर २० वर्ष ५ महिना पुगेको भेटियो ।’
(नेविसंघ) खेलबाट बाहिरिएपछि फाइनलमा देउरालीसँग न्युस्टारले खेल्न मौका पाएको थियो । (नेविसंघ) र देउराली बिचको फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धा हुने अपेक्षामा मैदानमा पुगेका दर्शक भने खिन्न देखिन्थे ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, सहिद गङ्गालाल र नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलालको योगदानलाई स्मरण र कदर गदै उनीहरूको सम्झनामा आयोजना गरिएको भनिएको सो प्रतियोगितामा लिखु तामाकोशी तामाङ समाज, मन्थली–३ अर्चले, रजगाउँ खाँडादेवी, अखिल क्रान्तिकारी, रामेछाप ओख्रेनी, सुनापति दलित समाज, खिम्ती, मेलुङ् दोलखा, मुगिखोला युवा कल्ब, मन्थली–६ कुनौरीको टिम सहभागी थिए ।
त्यस्तै उमाकुण्ड–२ बाम्ति, खाँडादेवी गाउँपालिका,तामाकोशी रिभर साइड, खाँडादेवी–७ र दोलखाको मेलुङले समेत प्रतियोगितामा प्रतिस्पर्धामा भाग लिएका थिए । विजेता र उपविजेताको लागि प्रतिस्पर्धा गर्ने टिममा ‘फेरबदल’ भएपछि सेमिफाइनल पुग्ने दुई टिमलाई प्रदान गर्ने भनिएको १०–१० हजार नगद पुरस्कार पाउने टिमको समेत अन्यौलता देखिएको थियो ।
करिब ४ लाख बढी खर्च लाग्ने पूर्व अनुमान गरिएको भनिएको उक्त प्रतियोगिता संचालनको लागि मन्थली नगरपालिकाले प्रायोजन गरेको थियो ।