भूमि, समस्या समाधान आयोग जिल्ला समिति रामेछापका दुई ‘विज्ञ सदस्यले’ शपथ खाए (भिडिओसहित)

१३ फागुन, रामेछाप । भूमि, समस्या समाधान आयोग जिल्ला समिति रामेछापका दुई जना ‘विज्ञ सदस्य’मा नियुक्त भएकाहरूले शपथ खाएका छन् । नेकपा (एमाले) को भागमा परेर ‘विज्ञ सदस्य’ पदमा नियुक्त भएका एमाले रामेछापका उपसचिव समेत रहेका युवा नेता मिलन कुमार घिसिङ र खुल्ला सदस्यमा एमालेबाटै नियुक्त भएकी नेतृ सदस्य गंगा देवी कार्कीले शपथ खाँदै जिम्मेवारी (पद बहाल) सम्हालेका हुन् ।
मंगलबार आयोगको जिल्ला समितिको कार्यालय स्थापना गरिएको नापी कार्यालयको भवनमा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल, मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेत, जिल्ला समन्वय अधिकारी हरिकृष्ण फुयाँलसहित आयोगको सदस्य सचिव समेत रहेका नापी कार्यालय, डिभिजन वनका प्रमुख, मालपोत कार्यालयका प्रमुखसहितको उपस्थितिमा शपथ ग्रहण गरेका हुन। उनीहरूलाई जिल्ला अध्यक्षमा पुनः नियुक्ति भएर आएका नेपाली काँग्रेस तर्फका गौतम लामाले शपथ खुवाएका हुन् ।
पटक–पटक स्थापना र खारेजी हुँदै आएको भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने जिम्मेवारीको ‘भूमि आयोग’ले यो पटक पूरा अवधि काम गरेर रामेछापको भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने लक्ष्य लिइएको जिल्ला अध्यक्ष गौतमको दाबी छ । उनले भने ‘हामी सम्भवतः अन्तिम आयोगको रूपमा आएका छौँ’ तीन वर्ष पुरा काम गर्ने सुनाउँदै अध्यक्ष गौतमले भने ‘३ वर्ष भन्दा अगाडि नै समस्या देखिएका सबै समाधान गरेर रामेछापका कसैलाई पनि भूमिहीन भएर बस्न नपरोस् भन्ने अवस्था सिर्जना गर्छौँ ।’
यो पटक नेपाली काँग्रेसले एक सदस्यसहित जिल्ला अध्यक्ष भागबण्डमा पाएको थियो । जसको लागि काँग्रेसबाट १ जना महिला सदस्य जिल्लाबाट सिफारिस गरिएको तर नियुक्ति नभएकाले नियुक्त भएका दुई सदस्यलाई शपथ खुवाएर काम अगाडि बढाउन लागेको अध्यक्ष गौतमले प्रस्ट पारे । त्यसको लागि सबै सम्बन्धित कार्यालय प्रमुखहरूसँग समेत मिलेर जिल्लाका स्थानीय तहसँग सहकार्य गरी समस्या पूर्ण रूपमा समाधान गर्न लाग्ने उनले जिकिर गरे ।