मन के हो ? किन यति धेरै चञ्चल !
मन सधैँ चञ्चल भइरहन्छ र मस्तिष्क अस्थिर बनाएर हामीलाई नै घुमाइरहन्छ .
मन शब्द सुन्दा जति सूक्ष्म लाग्छ। त्यसको बारेमा सोच,मनन,चिन्तन, गर्दा ब्रह्माण्ड जस्तो लाग्छ। एउटा भनाइ छ “बल होइन पासा बुद्धि लगा”। यो भनाइबाट पनि प्रस्ट हुन सकिन्छ। मस्तिष्क कति शक्तिशाली छ भनेर। मन र मस्तिष्कको समिश्नणबाट नै जीवन चलिरहेको छ। मन भन्ने न कुनै अङग शरीरमा छ,न त्यसलाई कसैले देखेको नै छ। मन भनेको व्यक्तिगत भावना र संवेदनाको सम्मिश्रणबाट मान्छेले व्यक्त गर्ने प्रतिक्रियाको उपज हो । मन जहिले पनि बेकाबु, चञ्चल भएर आफ्नै स्वतन्त्र बाटोमा हिडँन खोज्छ।
मनलाई काबु राख्न सक्नु सामान्य व्यक्तिको क्षमताको कुरै होइन। कुनै पनि नकारात्मक कुरा गर्न सबै भन्दा बढी उक्साहट गर्ने चिज नि मन हो र त्यस पछि पश्चात्ताप सहित मानिसलाई आत्माग्यानी गर्न बाध्य बनाउने वस्तु नि मन नै हो। अझ यसलाई बुझ्न –कुनै पनि रक्सी पिउने मान्छे छ। अनि उसले रक्सी खाने हितैषी मित्रहरूलाई भेट्यो भन्ने, त्यो मान्छेको मनले मस्तिष्कलाई दुई वटा कुरा भन्छ। पहिलो “रक्सी खानु हुँदैन यार फेरि अस्तिको जस्तै लफडा हुन्छ”।
यो मन नै हो जो लोभी र पापी पनि नै छ । मस्तिष्कलाई सोच्न बाध्य बनाउँछ “आज साथीहरूले खुवाउँछन् भनेका छन्, पैसा नि तिर्नुपर्दैन, आज मात्र हो मैले खाने भोलीबाट छोडी हाल्छु नि”।
मनले मस्तिष्कलाई बढो चलाखीपूर्ण ढङ्गले चलाई रहेको छ। फेरि भोली बिहान त्यो व्यक्तिलाई लाग्छ,हिजो रक्सीको नशामा नराम्रो काम गर्न पुगिएछ। मनले सबैभन्दा पहिला व्यक्तिलाई वस्तु प्रति आकर्षित गर्न खोज्छ, अनि मस्तिष्कलाई लोभमा पार्छ,त्यसपछि उक्साहट गर्ने अवस्थामा पुर्याउछ र अन्तमा पश्चात्ताप पनि गर्न लगाउँछ।
मन माथिको जित, संसार माथिको जित हुन पुग्छ ।
२१औँ शताब्दीका अधिकांश मान्छे आफूलाई खुब शिक्षित र चलाख ठान्छौ तर के गर्नु मानिसलाई मनले सदैव मेरो काबुमा चल्नु पर्छ भन्छ। कतिपय कुरा गर्नु नराम्रो हो भन्ने हामीलाई थाहा नि हुन्छ, हामी जानकार पनि हुन्छौ। त्यति हुँदा हुँदै पनि हामी त्यस्ता काम गरी रहेका हुन्छौ । अब किन यस्तो भइरहेको छ भन्ने कुरा मानिसको मस्तिष्कमा पनि आउँछ। हामी धेरैले यो प्रश्नको उत्तर भेट्दैनौ। यसरी नै हाम्रो जीवनको चक्रशृङखला चलिरहेको छ। यसको उत्तर साधारण र सामान्य छ “हाम्रो मन चञ्चल र मस्तिष्क अस्थिर छ।’
मनले हामीलाई थाहा नदिईकन हाम्रो मस्तिष्कलाई चलाई रहेको छ। “मान्छे चिन्तित हुन्छ, दुखित हुन्छ, भावनात्मक रूपमा कमजोर हुन्छ, उसले लिने निर्णयमा अडान हुँदैन र ऊ अडिक पनि हुँदैन “यी कुराहरूबाट के थाहा हुन्छ भने ती व्यक्तिहरूलाई मस्तिष्कले होइन मनले चलाइरहेको हुन्छ। जुन दिन व्यक्तिले यो कुरा बुझ्छ, त्यो दिन व्यक्ति आफै खुसी हुन्छ।
अन्तमा: जसले आफ्नो मनलाई मस्तिष्कबाट परिचालन गर्छ, त्यसले कसैलाई जित्नु नै पर्दैन। उसले आधा भन्दा बढी युद्ध त जितिसकेको हुन्छ। मस्तिष्कले दिएको मार्ग निर्देशन अनुसार मनलाई चलाउन जुन दिन देखि कुनै व्यक्तिले सुरु गर्दछ । त्यो दिन देखि त्यो व्यक्तिलाई जीवन अमूल्य लाग्छ । आफू फिक्का लाग्छ, आफू शून्य भए जस्तो लाग्छ।
मन माथि मस्तिष्कले नियन्त्रण गरेपछि अहमता, घमण्ड र कसैलाई सिध्याउँछु भन्ने भावना सकिएर जान्छ। जब मन एकाग्र हुन्छ,तब मस्तिष्क आफै स्थिर हुन्छ । मध्य भागमा “रक्सी पिउने मान्छे” भन्ने कसै प्रति लक्षित गर्न खोजिएको होइन, खाली उदाहरणको माध्यमबाट प्रस्ट बनाउन खोजिएको मात्र हो ।