रामेछापको चिर्मालुमा गम्भीर जाति छुवाछुतको घटना : वडामा गरियो मेलमिलाप

२५ फागुन, रामेछाप । जिल्ला उमाकुण्ड गाउँपालिका–३, कुँबुँकाँस्थलीको चिर्मालुमा सार्वजनिक कार्यक्रममा दलित समुदायमाथि ‘गम्भीर जातीय छुवाछुत, विभेद र अपमान’ गरिएको छ । उक्त घटनालाई वडा अध्यक्ष गुण कुमार थापा समेतको रोहबरमा वडा कार्यालयमा मिलाप गराइएको छ । भने, सोही गाउँमा ६ वर्ष अगाडि देखि आह्वानै गरेर औपचारिक कार्यक्रममा ‘जातीय बहिस्कार’ गरिएको समेत खुलासा भएको छ ।
शनिवार वडाको चिर्मालुमा नवनिर्मित बौद्ध स्तुपा अर्थात् झ्याङछुब छ्योर्तेन श्रदय गुरु हिस इमिनेन्स खेन् साङ्गे राङ रिन्पोछेबाट उद्घाटन कार्यक्रम आयोजना गरिएको थियो । अन्तर्राष्ट्रिय महिला दिवस अर्थात् मार्च–८ समेत परेको दिन आयोजित बौद्ध गुम्बा उद्घाटन कार्यक्रममा धर्म गुरु र प्रदेश सांसदसहित भद्र भलाद्मी समेतको उपस्थित रहेको सो कार्यक्रममा स्थानीय ५२ वर्षीय छोक्पा शेर्पाले दलित वडा सदस्य समेत रहेकी शर्मिला नेपालीसहित अन्य केही दलित महिलाहरूलाई सामूहिक भोज खान बसेको लाइनबाट बोलाएर ‘तिमीहरू यहाँ नबस । तिमीहरूलाई खाना यही ल्याइदिन्छु’, तिमीहरू अरूसँग बस्न मिल्दैन भनी दलित महिलाहरूलाई मात्रै छुट्याएको र जातीय विभेद तथा अपमान गरेको पाइएको हो ।
भोज खाना लाम्बद्ध भएका ‘ती महिलाहरू’ कार्यक्रम छोडेर खिन्न हुँदै बाहिरिएका हुन् । यसरी दलित भएकै कारण आफूहरूलाई सामूहिक भोजको लाइनबाट हटाइएको उनीहरूको गुनासो छ ।
रामेछाप टाइम्ससंग कुरा गर्दै त्यसरी बाहिरिएकी एक महिलाले भनिन् ‘हामीलाई अर्कै लाइनमा बस्न भनियो । हामी केही बोल्न सकेनौँ’, किन नबस्नु भन्दा यहाँ अरूसँग बस्न दलित भएकै कारण अर्को लाइन बस्न भनिएको उल्लेख गर्दै उनले थपिन् ‘गुरुको स्वागतमा आउन भनेर चिठ्ठी काटेपछि हामी त्यहाँ गएका थियौँ ।’
यसरी भोजको लाइनबाट निकालिए पछि सबै फर्किए पनि एक महिलाको नाबालक बच्चा समेत रहेकाले बच्चाले भोज खाने जिद्दी गरेको सुनाउँदै बच्चाकी आमाले सुनाइन् ‘मेरो त सानो बच्चा थियो । बच्चा रुन थालेपछि एक जनाले मलाई अर्कै ठाउँ बसालेर खाना हालेर ल्याइदिनु भयो । खुवाएर फर्किए । सारै नराम्रो लाग्यो । प्रवाद पनि गर्न सकिन।’
यसरी सार्वजनिक कार्यक्रममा आफूहरू माथि दलित भएकै कारण विभेद गरिएको महसुस भएपछि वडा अध्यक्ष गुण कुमार थापालाई आफूले जानकारी गराएको सुनाउँदै दलित वडा सदस्य महिलाले भनिन् ‘मैले अध्यक्ष, पालिका अध्यक्षलाई पनि जानकारी गराए र पालिकाको न्यायिक समितिमा पनि र प्रहरीलाई पनि निवेदन दिए ।’
ती पीडितहरूले वडा अध्यक्षलाई सम्बोधन गर्दै लेखिएको पत्रमा भनिएको छ ‘आवश्यक कारबाही गरी पाउँ’ ।
निवेदन पत्र
सार्वजनिक रूपमा जातीय छुवाछुत मुक्त घोषणा भएको दुई दशक बिते पनि आफूहरू माथि विभेद नहटेको भन्दै गुनासो गरेका उनीहरूले मानिसलाई ‘पशुको व्यवहार’ गर्नहरु माथि कारबाही गर्न माग गरेको पत्रमा उल्लेख छ ।
वडा अध्यक्षलाई सम्बोधन गरी लेखिएको निवेदनमाथि छलफल आज बिहान (आइतबार) वडामा छलफल गर्दै माथि समेत मागेको उल्लेख नगरी मेलमिलाप गरिएको भनिएको छ । जातीय छुवाछुतको घटनामा स्थानीय मेलमिलाप सेवा केन्द्रले दुवै पक्षलाई बोलाएर छलफल गराउँदै उसको दायरा भित्रै नपर्ने मुद्दालाई ‘मेलमिलाप नै’ गराएको तथ्य बाहिरिएको हो ।
वडा अध्यक्ष र अन्य केही स्थानीयहरू समेतको उपस्थितिमा दुई पक्षलाई राखेर आइतबार बिहान वडामा भएको छलफलबाट मेलमिलाप गरिएको वडा अध्यक्ष थापासमेतको हस्ताक्षर रहेको पत्रमा उल्लेख छ । तर, मेलमिलाप के कारणले भयो भनी उल्लेख गरिएको छैन ।
उक्त पत्रमा ‘छोक्पा शेर्पाले जातीय भेदभाव गरेको भनी निवेदन परेको उल्लेख गर्दै कोही कसैले पनि सामाजिक भेदभाव गर्न नहुने र यस्तो कुरालाई अगाडी सार्नेलाई कानुन बमोजिम अगाडी बढाउने गरी हामी पक्ष विपक्ष दुवै पक्ष मिलेको’ वडा कार्यालयमा भएको छलफलबाट लिखित गरिएको रामेछाप टाइम्सलाई प्राप्त भएको हो ।
यो हेर्नुहोस् मिलापत्र गरिएको पत्र
एका बिहानै भएको छलफलमा पीडक शेर्पाले आफू अन्पड् भएकै कारण अन्जानमा यस्तो गल्ती गरेको भन्दै माफी दिन आग्रह गरेपछि मेलमिलाप गरिएको वडा सदस्य नेपालीको भनाई छ । आफूहरू सानो ठुलो जातको नाममा कसैमाथि कानूनी कठघरामा लैजान नचाहेको तर्क गर्दै गाउँकै भएको कारणले एक पटकको लागि मिलाप गरिएको ती वडा सदस्य महिलाको भनाई छ ।
तर, जातीय विभेद जस्तो गम्भीर विषयलाई गाउँ–टोलको सामान्य विवाद जसरी मिलाप गरी सिङ्गो दलित समुदायमाथि नै खेलवाड् र आपराधिक काम गरिएको जिल्लाका दलित अगुवाहरूले बताएका छन् । जातीय छुवाछुतका मुद्दाहरूलाई वडा र न्यायिक समितिले समेत हेर्न नमिल्ने कानूनी प्रावधान रहेको उल्लेख गर्दै अधिकारकर्मी लेखबहादुर बि क भन्छन् ‘यो गम्भीर घटनालाई मिलाउन र मिल्ने दुबैलाई कारबाही हुनु पर्छ ।’
बौद्ध उद्घाटनको बेलामा लामा पूजा गर्दै, तस्बिर स्रोत भिडिओ ।