राजनीतिक दलकै प्रतिष्ठा बनेको मन्थली क्याम्पसको स्ववियु निर्वाचन : नेविसंघ र अनेरास्ववियुबाट सभापतिको उम्मेदवार को–को ?

२६ फागुन, रामेछाप । आसन्न चैत्र ५ गते देशैभर एकै पटक हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन रामेछापको एक मात्रै मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा हुँदै छ । क्याम्पसमा सक्रिय राजनीतिक दल निकट विद्यार्थी सङ्गठनहरूलाई यति बेला ‘चुनाव’ लागेको मात्रै छैन, विद्यार्थी नेता देखि पार्टीका शीर्ष नेताहरूको समेत दौड धूप बढाएको छ ।
क्याम्पस प्रशासनका अनुसार निर्वाचनमा भाग लिन गरिएको आह्वान अनुसार ‘विप्लव’ निकटको विद्यार्थी सङ्गठनसहित चार राजनीतिक दलका विद्यार्थी संगठनले दल दर्ता गरेका छन् । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ), नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु), नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) ले दल दर्ता गरेका हुन् ।
विशेष गरी नेविसंघ र अनेरास्ववियुले क्याम्पसको नेतृत्वलाई पार्टी कै प्रतिष्ठाको रूपमा हेर्दा सङ्ख्यात्मक हिसाबले केही कमजोर देखिएको नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) पनि आफ्नो बलियो उपस्थिति देखाउने दाउँमा लागि परेको नेताहरूको बुझाइ छ ।
नेविसंघ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी) बढी सक्रिय देखिएको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनहरू मिलेसम्म एक आपसमा गठबन्धन गरेर जाने तयारीमा जुटेका हुन् । तर, सभापति कसले लिने भन्नेमा नटुङ्गिँदा गठबनधन भने निश्चित भइसकेको छैन । त्यसका लागि सबै विद्यार्थी सङ्गठनहरूले चरणबद्ध रूपमा गरिरहेका छन् ।
विद्यार्थी संगठन प्रमुखहरू र राजनीतिक दलका नेताहरू नै जोड बलले लाग्दा अखिल (क्रान्तिकारी) विद्यार्थी संघ अर्को संगठनसंग मिलेर जान जोड् दिई रहेको नेताहरूको भनाई छ ।
नेविसंघ र अनेरास्ववियु सभापतिको उम्मेदवार को–को ?
त्रिविले जारी गरेको निर्वाचन तालिका अनुसार भोलि बिहान ठिक ११ बजे देखि दिउँसो २ बजे सम्म प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवार दर्ता गर्ने समय निर्धारण गरिएको छ । सोही अनुसार विद्यार्थी सङ्गठनहरूले भोलि निर्धारित समयमा उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेका छन् ।
सोही अनुसार क्याम्पसमा अन्य संगठन भन्दा लोक प्रिय मत रहेको ठोकुवा गरेको नेविसंघले सभापतिमा दाबेदार रहेका इकाई सभापति विपुल रोका र एक कार्यकाल स्ववियुको सदस्य बनी सकेका युवराज बुढाथोकी मध्येबाट एक जनालाई नेतृत्वमा अगाडि सारेर उम्मेदवारी दर्ता गर्न लागेको संघको निर्वाचन परिचालन समितिका संयोजक विमल पौडेलले रामेछाप टाइम्सलाई बताए । ‘दुवै जना सक्षम छन् । मिलाएर टुङ्गो लाग्छ ।’
त्यस्तै, अनेरास्ववियुले संगठनको तर्फबाट एक कार्यकाल सचिवको जिम्मेवारी निर्वाह गरेका सुशील थापालाई सभापतिको उम्मेदवार बनाउने चर्चाका बिच छलफल गराइरहेको बुझिएको छ । तर, अनेरास्ववियुमा आकाक्षि बढेको जानकारी प्राप्त भएको छ । आफू छलफलमै रहेका बताउँदै विद्यार्थी नेता उत्सव केसीले रामेछाप टाइम्ससंग भने ‘हामी छलफलमै छौँ, ५/६ जनाले नै नेतृत्वको लागि आकाक्षा देखाउनु भएको छ ।’
नेकपा (एमाले) रामेछापका अध्यक्ष पुरुषोत्तम कडरीयाले विद्यार्थी नेताहरूले मिलाएर ल्याउँछौँ भनेकाले छलफल चलिरहेको बताए । अनेरास्ववियुले पनि आफ्ना विद्यार्थी नेताहरु नियमिति क्याम्पस जाने हुँदा विद्यार्थीसंग राम्रो सम्बन्ध रहेकाले मत सुरक्षित रहेको जिकिर गरिरहेको छ । यसले आफूहरुलाई निर्वाचन सफल पार्न सहज रहेको आंकलन गरिरहेका छन्।
रामेछापको एक मात्रै क्याम्पसमा निर्वाचन हुनुले जिल्लाको अन्य राजनीतिक संगठनकै ‘दर्जा पाउँदा’ स्ववियुको निर्वाचन मुख्य राजनीतिक दलका नेताहरूको पनि प्रतिष्ठाको विषयमा बनेको छ । नेविसंघ अघिल्लो निर्वाचनको लोकप्रिय मतले हौसिँदा अनेरास्ववियु नेविसंघलाई रोक्ने रणनीतिमा लागेको देखिन्छ ।
नेविसंघले आन्तरिक रूपमा नेतृत्वको लागि आकांक्षि निश्चित हुनु र सबैलाई मिलाएर लान सक्ने सहज वातावरण देखिँदा अनेरास्ववियुमा आकाङ्क्षीहरू पनि बढ्नु र अखिल क्रान्तिकारी गठबन्धन नेविसंंघसंग मिल्ने सम्भावना बढी रहेको चर्चाले आफूहरूले निर्वाचन सहज रूपमा जित्ने नेविसंघ रामेछापका पूर्व अध्यक्ष समेत रहेका नेपाली काँग्रेस रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्कीले बताए ।
गत निर्वाचनमा अनेरास्ववियुका उम्मेदवार पुष्कर भट्टराईलाई फराकिलो मतान्तरले पराजित गर्दै नेविसंघका अविनाश कार्कीले स्ववियु निर्वाचन जितेका थिए ।