उमाकुण्डका काँग्रेसको राजधानीमा ‘जम्बो भेला’ : गुटउपगुट त्याग्दै पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न नेताहरूको सामूहिक प्रतिबद्धता
उमाकुण्ड गाउँपालिकाले ‘मिसन–०८४’
२६ फागुन, रामेछाप । नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिकाले ‘मिसन–०८४’ लक्षित गतिविधिलाई अगाडि बढाएको छ । पार्टी भित्रको आन्तरिक विवादलाई मिलाएर अब सबै तहका नेता कार्यकर्ता एक ढिक्का भएर अगाडि बढ्ने बाटोमा अगाडि बढेको नेताहरूले बताएका हुन् । अब उमाकुण्डमा कांग्रेस एक ढिक्का बनेको र आन्तरिक असन्तुष्टि तथा कमी, कमजोरी नरहेको नेताहरुको जिकिर छ ।
पार्टीमा केन्द्रदेखि बढ्दै गएको गुट बन्दिकै कारण लगातार २–२ पटक पालिकाको नेतृत्व गुमाउनु परेको निष्कर्ष निकाल्दै नेपाली काँग्रेसका नेताहरूले अब सबै असन्तुष्टि र कमजोरीहरूलाई तोड्दै एक भएर अगाडि बढ्न नेता कार्यकर्ताहरू सहमत भएका हुन् । पालिकाको अध्यक्षको प्रत्याशी एवं काँग्रेस जिल्ला कार्यसमिति सदस्य समेत रहेका सो पालिकाका नेता जितबहादुर कटुवालसहितका नेताहरूले पालिकामा पार्टीलाई बोलियो एवं संगठित बनाउन ढिला भएको भन्दै आइतबार काठमाडौँमा वृहत् छलफल गरेका हुन् ।
७ वटै वडाका नेता कार्यकर्ता, विद्यार्थी नेतादेखि नेतृ एवं उपप्रमुख सावित्री सुनुवार, कार्यवाहक सभापति बाबुराम कटुवालसहितको उपस्थितिमा भएको दिनभरको छलफलले पार्टीको सङ्गठनलाई बलियो बनाउँदै पालिकाको विकास निर्माणसहितका गतिविधिलाई नजिकबाट नियाल्ने, खबरदारी गर्ने, गुणस्तर हीन काम रोक्ने सम्मको निधो गरेको नेता कटुवालले बताए । त्यसको लागि उपप्रमुख एवं अनुगमन समितिकी संयोजक समेत रहेकी नेतृ सावित्री सुनुवारलाई समेत पार्टीले साथ र हात दुवै रहने प्रतिबद्धता दिएको नेता जितबा. कटुवालको भनाई छ ।
अन्य राजनीतिक दलसँगको प्रतिस्पर्धा भन्दा पनि आफ्नै आन्तरिक गुटउप गुटको कारण पार्टी कमजोर भएको सबैले महसुस गरेको भन्दै अब ती सबै कुरालाई त्यागेर पार्टी बनाउन लाग्ने र ‘जनताको दुःख, सुखमा जोडिन’ सबै एक ढिक्का भएको उनको भनाई छ ।
गुम्देल देखि भूजी सम्मका काँग्रेस नेताहरूले पालिकाको विकास निर्माण देखि जनजीविकाको सवालसहित पालिकाको समग्र विषय वस्तुमा ‘सूक्ष्म’ छलफल गरिएको कार्यवाहक सभापति बाबुराम कटुवालले बताए । भ्रष्टाचार मौलाएको र व्यथिति बढेको निष्कर्ष सहित भएका विकास निर्माणको काम गुणस्तरीय भए नभएको बारेमा समेत काँग्रेसको छलफलले प्राथमिकता पाएको नेता कटुवालको भनाई छ ।
पालिका भित्र जातीय छुवाछुतको घटना, प्रमुख प्रशासकीय ३ महिनामै सरुवा भए जाने परिस्थिति बनेको लगायतका विषयलाई पार्टीले नजिकबाट हेरिरहेको छलफलको नेतृत्व गरेका युवा नेता जितबहादुर कटुवालले दोहोर्याए । नेताहरुले आत्मा आलोचना गर्दै कमी, कमजोरी सुधार गर्ने प्रतिबद्धता गरेका छन् ।
पार्टीका अग्रज नेताहरूलाई सम्मान गर्दै उनीहरूको दक्षता र क्षमता अनुसार पार्टीलाई अगाडि बढाउन सहयोग लिने उल्लेख गर्दै पार्टीका सबै तहका सङ्गठनहरूलाई चलायमान बनाएर ‘उमाकुण्डको काँग्रेस एक छौँ’ भन्ने निर्णयमा पुगेको नेता कटुवालले प्रस्ट पारे ।
त्यस्तै, नेता रमेश सुनुवारले पालिका भित्र भएको नीतिगत भ्रष्ट्राचारसहित आर्थिक, सामाजिक लगायतका विषयमा गम्भीर छलफल गर्दै ती कुराको गलत भए खबरदारीसहित अगाडि बढ्ने प्रतिबद्धता भएको बताए ।
बिहान ७ बजेदेखि दिउँसो ३ बजे सम्म काठमाडौँ म्याकडोनालमा भएको वृहत् छलफलमा नेताहरूले आन्तरिक असन्तुष्टि र गुटउपगुट भन्दा माथि उठेर पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो हुने गरी पार्टीका गतिविधि अगाडि बढाउन सबैले प्रतिबद्धता जनाएको नेताहरूको भनाई छ ।