होली पर्व सभ्य, सुरक्षित र मर्यादित तरिकाले मनाउन रामेछाप प्रशासनको आग्रह

| फागुन २७, २०८१ मंगलबार

फाइल फाेटाे
A A A
A A A

२७ फागुन, रामेछाप । बिहीबार परेको फागु पूर्णिमा अर्थात् होली पर्वलाई सभ्य, सुरक्षित र मर्यादित तरिकाले मनाउन जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ । 

 

बिहीबार पहाडी जिल्लाहरूमा रंग र खुसीयालीको पर्वका रूपमा होली पर्व मनाइँदै छ । सो पर्वलाई ‘आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन हुने गरी सभ्य, भव्य र सु–संस्कृत रूपमा मनाउनु हुन’ प्रशासनले पत्र जारी गर्दै आग्रह गरेको हो । 

 

प्रमुख जिल्ला अधिकारी (सिडिओ) राजु प्रसाद पौडेलले सोमबार पत्र जारी गर्दै होली मनाउने क्रममा जबरजस्ती, अमर्यादित, गैर कानुनी र उत्श्रृंखल तरिकाले कसैको इच्छा विपरीत रङ्ग दल्ने, लोला हान्ने, अनावश्यक दुःख दिने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता कार्यहरू नगर्न सचेत गराएका छन् । 

 

त्यस्तै वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको रङ्गिन वस्तुहरू, केमिकल, प्लास्टिकजन्य सामग्रीहरूको प्रयोग नगर्न समेत प्रशासनले अनुरोध गरेको छ । रोक लगाइएका र कानुन विपरीतका यस्ता क्रियाकलापहरू गरे प्रचलित कानुन बमोजिम कारबाही गर्ने समेत चेतावनी दिइएको छ ।

मिलन घिमिरे (बि क)
| पुस २०, २०८१ शनिबार