दोरम्बा र बेतालीमा भीषण आगोलागि : थाल्यो प्रहरीले अपराधी पक्रिन ‘सूक्ष्म अप्रेसन’, वन कार्यालयको चौतर्फी आलोचना

| चैत १, २०८१ शनिबार

बेतालीको जंगलमा लागेको डढेलो । तस्बिर स्रोत सामाजिक संजाल ।
A A A
A A A

२ चैत, रामेछाप । सुख्खा ग्रस्त रामेछाप जिल्लामा चैत महिनाको सुरुवाती देखि नै आगोलागि एवं डढेलो फैलिएको छ । विभिन्न ठाउँमा एकै पटक आगो एवं डढेलो लाग्न थालेपछि जिल्ला प्रहरीले गिरोह नै परिचालित भएको आशंकासहित खोजतलासलाई तीव्र पारेको जनाएको छ । 

 

शनिवार चैत १ गते कै दिन जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ को लालीगुराँसेमा फैलिएको डढेलो नियन्त्रण बाहिर गएको छ । स्थानीय जनप्रतिनिधिहरू सहित प्रहरी आगो नियन्त्रणमा खटिए पनि सुख्खा पाखोमा फैलिएको डढेलो नियन्त्रण बाहिर गएको छ । तर, नियन्त्रणमा लिने कार्य भने भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक कौशल न्यौपानेले रामेछाप टाइम्सलाई बताए । त्यहाँ डढेलो तीव्र रूपमा फैलिरहेको छ । 

 

त्यस्तै शनिवार (आज) जिल्लाको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा पनि लिसेखानिको जङ्गलमा  डढेलो सुरु भएको छ । उक्त डढेलोको कारण केही घरहरू समेत जोखिममा परेपछि स्थानीय, जनप्रतिनिधि र प्रहरीहरूको सक्रियतामा जोखिम न्यूनीकरण गरिएको छ । 

 

एक्कासि देखा परेको जङ्गलको आगो तीव्र फैलिरहेकाले नियन्त्रणमा लिने काम भने जारी रहेको यो समाचार तयार पार्दा सम्म प्रहरी निरीक्षक न्यौपानेको भनाई छ । 

 

यसरी योजनाबद्ध रूपमा आगोलागिका घटना घटेको प्रति गम्भीर   ध्यानाकर्षण गर्दै जिप्रका रामेछापले सूक्ष्म अनुसन्धान सुरु गरिरहेको बताएको छ । 

 

वन डढेलो गम्भीर आपराधिक घटना भएकाले यस्तो कार्य गर्नेलाई अब कुनै छुट् दिन नसक्ने गरी आफूहरूले ‘अपरेसन’ थालेको प्रहरीको दाबी छ । ठाउँ–ठाउँमा डढेलो सल्किएको र नियन्त्रणमा लिन नसकिरहेको भन्दै स्थानीय सरकार र त्यससँग सम्बन्धित निकायहरूको भने आलोचना सुरु भएको छ । साथै, डिभिजन वन कार्यालयले बेलैमा डढेलो नियन्त्रणको लागि उचित काम गर्न नसेकेको र कर्मचारीहरू हाजिर गरेर अफिस मात्रै बस्ने हो भन्दै प्रश्न उठेका छन् ।