स्ववियु निर्वाचन : मन्थलीमा ८ बजेदेखि हुने मतदानको लागि सबै तयारी पूरा, आ–आफ्नो संगठनले जित्नेमा विद्यार्थी नेता आसावादी
५ चैत, रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको जिल्लाको एक मात्रै (स्ववियु) निर्वाचन हुने मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसले मतदानको लागि सबै तयारी पुरा गरेको छ । बिहान ८ बजेदेखि अपरान्ह्व ४ बजे सम्म मतदान खुल्ला गर्नको लागि सबै तयारी सकिएको क्याम्पसका विभागीय प्रमुख एवं निर्वाचन प्रमुख नाराद थापाले रामेछाप टाइम्सलाई बताए ।
५ सय ३१ जना कूल मतदाता रहेको यो क्याम्पसको नेतृत्वको लागि नेपाल विद्यार्थी संघले (नेविसंघ) विपुल रोकाको नेतृत्वमा चुनावी मैदानमा कडा रूपमा उत्रिएको देखिन्छ ।
त्यस्तै, (अनेरास्ववियु) बाट सुशील थापाको नेतृत्वमा उम्मेद्वारहरु यो पटक छुटा–छुट्टै मैदानमा रहेका छन् । निर्वाचनमा उम्मेद्वार खडा गरेपछि आफ्नै आन्तरिक संगठनका क्याम्पस कमिटी अध्यक्ष,नगर इन्चार्ज तथा हाल मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसकै स्ववियु उपसभापति समेत रहेका नीरज अधिकारी अर्को संगठन (अनेरास्ववियु)मा गएर धक्का दिइरहेको अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन पनि अनुज भुजेलको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा छ । आन्तरिक संगठनकै जिम्मेवार विद्यार्थी नेता बाहिरिनुले मतदातामा संगठन प्रति अविश्वास बढेको प्रतिस्पर्धि विद्यार्थी संगठनको तर्क छ ।

करिब ४ सय देखि ४ सय ५० सम्म कूल मत खस्ने आकलन भइरहँदा विद्यार्थी संगठनका मातृ पार्टी नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का जिल्ला तहका नेताहरूको मन्थलीमा बाक्लो उपस्थिति रहेको छ । क्याम्पसको निर्वाचन जिल्लामै एक मात्रै हुने भएकाले पनि राजनीतिक दलको नै प्रतिष्ठाको विषय बनेको छ ।
अघिल्लो पटक गठबन्धन गरेर प्रतिस्पर्धा गर्दा (नेविसंघ) का अविनाश कार्कीको नेतृत्वमा (नेविसंघ) ले बाजि मार्दा (अनेरास्ववि) ले लज्जास्पद र फराकिलो मतान्तरमा हार बेहोरेको थियो । सोको बदला सुशील थापालाई जिताउँदै लिने दाउमा अनेरास्ववियु र एमाले देखिँदा पहिलो पटक क्याम्पसमा अखिलको झन्डा गड्ना क्याम्पसका विद्यार्थी आतुर रहेको अखिल र (माओवादी केन्द्र) रामेछापले दाबी गरिरहेको छ ।
विद्यार्थीहरूको हक हितको लागि काम गर्ने दुई वर्षे अवधि रहेको (स्ववियु) निर्वाचनको लागि क्याम्पस प्रशासनले सबै व्यवस्था चुस्त र दुरुस्त पारेको निर्वाचन प्रमुख थापाले प्रस्ट पारे । सुरक्षा व्यवस्थासहित विद्यार्थी संगठनहरु सँग पटक–पटक छलफल गरेर प्रत्यक्ष तर्फको एक वटा र समानुपातिकको अर्को गरी दुई ढ्वाङ्मा मतदाताले मत खसाल्नु पर्ने गरी व्यवस्थापन गरिएको उनको भनाई छ ।
