दुरागाउँमा लागेको डढेलो ३ दिनपछि नियन्त्रण, निभाइसकेपछि पुगेका वनका कर्मचारीले भने ‘आउनलाई साधन छैन’

८ चैत, रामेछाप । जिल्ला लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँको होपिनाको मंगलबार साँझ करिब ७ बजेदेखि भीषण रूपमा लागेको आगो एवं डढेलो तीन दिन पछि नियन्त्रणमा लिइएको छ । भीर पाखोमा सल्किएको आगो स्थानीयहरूको मात्रै सक्रियतामा नियन्त्रणमा लिइएको हो ।
बिहीबार दिउँसो सम्मको प्रयासबाट १२० जना भन्दा बढी स्थानीहरू मात्रै खटिएर उमाकुण्ड गाउँपालिका–७ भुजीको भीर पाखो सम्म पुगेको आगो निभाइएको दुरागाउँका वडा अध्यक्ष प्रदीप तामाङले रामेछाप टाइम्ससंग बताए । ‘पहिलो प्रयास गरियौँ, दोस्रो दिनमा १०० जनाको हाराहारीमा नै निभाउन पुग्यौँ तर सकेनौँ तेस्रो दिन भने सल्किने सबै निभाएका हौँ’, वडा अध्यक्ष तामाङले भने ‘प्रहरी र वन कार्यालयबाट कोही आएनन् ।’
जिल्लाको दुर्गम क्षेत्रकै पहिचान बनाएको दुरागाउँमा सल्किएको उक्त डढेलो तीन दिन सम्म खटिएर स्थानीयहरूले नै निभाएको उनको भनाई छ । बिहीबार आगो नियन्त्रणमा लिइसकेको अवस्थामा त्यहाँ पुगेका वनका ‘एक जना’ कर्मचारी धोबीबाट त्यहाँ पुगेको र आफू बेलैमा आउन साधन नभएको गुनासो गरेको वडा अध्यक्ष तामाङले सुनाए । वडा अध्यक्ष तामाङले भने ‘उहाँले आउनलाई साधन नभए भाडाको मोटरसाइकल लिएर त्यहाँ पुगेको सुनाए ।’
बिहीबार साँझ सम्म बाहिर दन्किएको सबै आगो नियन्त्रण गरिएको र अब कतै काठको भुब्रो भए मात्रै तर अरू सल्किने आगो निभाइएको वडा अध्यक्ष तामाङको भनाई छ । पहिचान नखुलेका मानिसले नै लगाएको बुझिएको सो डढेलो जंगल सख्खाप भएको छ ।
सुख्खा याम लाग्नु अगाडि जनचेतना मूलक राम्रो तयारी नगरेको र स्थानीय तहहरू सँग समेत समन्वय र सहकार्य गरी डढेलो नियन्त्रणका उपकरणहरू व्यवस्थापन गर्न चुकेको भन्दै आरोप खेपिरहेको डिभिजन वन कार्यालय रामेछापलाई राम्रो होटेलमा गोष्ठी र छलफल गरेर मात्रै डढेलो नरोकिने टिप्पणी समेत गरिएको छ।