रामेछाप उद्योग वाणिज्य संघको दाबी ‘माघमा सम्पन्न कृषि महोत्सवले जिल्लाको कृषि क्षेत्रको विकासमा उल्लेख्य टेवा पुग्यो’

| चैत ११, २०८१ मंगलबार

फाइल फाेटाे
A A A
A A A

११ चैत, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघ रामेछापले गत माघ १६ गतेदेखि ११ दिन सम्म संचालन गरेको ‘रामेछाप कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला पर्दशनी’ ले रामेछापको कृषि तथा स्थानीय उत्पादनको प्रचारप्रसारमा उल्लेख्य टेवा पुगेको दाबी गरेको छ । झण्डै १७ लाख खर्च लागेको ११ दिने कृषि प्रदर्शनी मेलामा स्थानीय कला, संस्कृतिसहित कृषि उपजको प्रचारप्रसारलाई आफूहरूले सक्दो प्रयास गरेको संघको भनाई छ । 

 

सोमबार संघको सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरी संघका अध्यक्ष नवीन थापा मगरले ११ दिने कृषि मेलामा कूल १६ लाख ३० हजार ३ सय ३८ रुपैयाँ खर्च लागेको जानकारी दिए । उनका अनुसार हाल सम्म २ लाख २२ हजार ठेकेदार (राकेश एण्ड समिना नेपाल) बाट र सुनापति गाउँपालिकाबाट ९८ हजार ५ सय र स्टल बिक्रीबाट ३६ हजार गरी कूल ३ लाख २० हजार ५ सय रुपैयाँ मात्रै आम्दानी भएको छ । अन्य, खर्च भने हाल सम्म नउठेको र उठ्ने क्रममा रहेको अध्यक्ष थापा मगरले बताए । 

 

मेला, महोत्सवमा पहिलो पटक निःशुल्क प्रवेश दिएर (चार दिन सम्म) आफूहरूले नयाँ अनुभव सँगालेको जिकिर गर्दै कृषकहरू, स्थानीय कलाकारलाई प्रोत्साहन, सम्मान र स्थान दिइएको संघको भनाई छ ।

कृषकहरूलाई निःशुल्क स्टल उपलब्ध गराउनुको साथै निःशुल्क खाना र यातायात खर्च समेत दिइएको सुनाउँदै कृषि सामाग्रीलाई प्राथमिकता दिइएर प्रचारप्रसार गरिएको संघका कोषाध्यक्ष झनक बुढाथोकी (उत्तम) ले भने ‘हामीले कृषिलाई प्राथमिकता दिएका हौँ ।’

 

स्थानीय लोक दोहोरी वाद्यवादन समेत आफूहरूले प्रत्येक दिन समेटेर २ लाख ४ हजार ९२० रुपैयाँ खर्च गरेको बताउँदै कोषाध्यक्ष उत्तमले कृषकहरूलाई ‘मेस’ संचालन गरेर खाना खुवाएयौं ।’

 

मेलाको कार्यक्रम उद्घाटन सत्रमै दर्शकहरूको न्यून उपस्थिति भएको र स्टलहरूमा कृषि उत्पादन न्यून भएको आरोप खेपेको आयोजकले केही नयाँ अनुभव सिक्दै आगामी दिनमा नयाँ योजनासहित कार्यक्रमहरू गर्नु पर्ने अध्यक्ष थापा मगरले प्रस्ट पारे । 

 

१३ हजार जनाले टिकट काटेर सहित करिब ६० हजार भन्दा बढी दर्शकले मेलाको अवलोकन गरेको बताउँदै अध्यक्ष थापा मगरले कृषिकहरुलाई प्रस्तावना लेखन, प्रतिवेदन फोटा, पेन ड्राइभ समेत प्रदान गरिएको सुनाए ।