नेकपा माओवादी रामेछापका सचिव कार्कीको आरोप : ‘प्रधानमन्त्री ओली राष्ट्रघाती र गणतन्त्र विरोधी भएर निस्किए’ (भिडिओसहित)

१३ चैत, रामेछाप । नेकपा (माओवादी केन्द्र) रामेछापका पार्टी सचिव प्रेमकुमार कार्की (सवक) ले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रघाती र गणतन्त्र विरोधी भएको आरोप लगाएका छन् । कुलमान घिसिङलाई पुनः पदबाहाली नगरे आन्दोलनको आँधिवेरी ल्याउने र जस्तो सुकै मूल्य चुकाउन तयार रहन चेतावनी दिँदै यो देशमा प्रतिगामी शक्तिहरूले टाउको नउठाउन सचेत गराए ।
मङ्गलवार साँझ पार्टी निकट युवाहरूले मन्थलीमा कुलमान घिसिङको पक्षमा निकालेको राँके जुलुसलाई सम्बोधन गर्दै नेता सवकले भने ‘कुलमानको निर्णय फिर्ता लिएन भने यो देश बल्ने छ । केपी ओली राष्ट्रघाती र गणतन्त्र विरोधी भएर निस्किएको छ ।’
आफूहरूको यो खबरदारी सुरुवा मात्रै भएको तर्क गर्दै अहिलेको सरकारले नराम्रो काम गर्ने, भ्रष्ट्राचार गर्नेलाई पुरस्कृत गर्ने र राम्रो काम गर्नेलाई कारबाही गर्ने बाटोमा अगाडि बढेको आरोप लगाउँदै देशमा आँधिबेरी ल्याउने चेतावनी दिए ।
राजावादीहरू तर्फ संकेत गर्दै चिहानमा अस्तुसेलाई सकेकाहरूलाई टाउको नउठाउन चेतावनी दिए । उनले सरकार विरुद्ध कडा शब्दमा विरोध जनाए भने प्रधानमन्त्री र ऊर्जा मन्त्रीको राजीनामा
समेत मागे ।
माओवादी निकट युवा संघ (वाइसिएल) र अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका युवाहरू कुलमान घिसिङ जिन्दाबाद, गठबन्धन सरकार मुर्दावाद, प्रधानमन्त्री राजीनामा दे, ऊर्जा मन्त्री राजीनामा दे, भ्रष्ट्राचारी सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए ।
नेकपा माओवादी निकट हाम्रो स्रोतका अनुसार बुधबार (आज) पनि मन्थलीमा माओवादी निकट विद्यार्थीसंगठन र युवाहरुले कुलमान घिसिङ्को पक्षमा आन्दोलन गर्ने तयारी गरेका छन् ।