पत्रकार महासंघ रामेछाप चरणबद्ध आन्दोलित : सिडिओ मार्फत प्रधानमन्त्रीलाई ६ बुँदे यस्तो पत्र बुझायो ? (पत्रसहित)

१८ चैत, रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले मिडिया माथिको प्रहार विरुद्ध घोषित पहिलो चरणको आन्दोलनलाई चरणबद्ध रूपमा अगाडि बढाएको छ । सोही, क्रममा सोमबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।
महासंघको जिल्ला शाखा रामेछापका अध्यक्ष दीपक कुमार घिमिरेसहितको टोलीले केन्द्रीय सदस्य नवराज पथिक समेतको उपस्थितिमा सोमबार प्रशासन पुगेर (सिडिओ) राजु प्रसाद पौडेललाई ६ बुँदे ध्यानाकर्षण पत्र प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई बुझाएको हो । सो पत्र बुझ्दै (सिडिओ) पौडेलले पत्रकारहरूको माग जायज रहेको भन्दै माग सम्बोधनको लागि सम्बन्धित निकायमा तत्काल सिफारिस गरे । ‘तपाईँहरूको माग जायज छ । राज्यले पनि यो घटनालाई सिरियसली लिएको छ ।’
काठमाडौँको तीनकुनेमा राजावादीहरूले शुक्रवार गरेको विरोध प्रदर्शनको क्रममा घरभित्र थुनेर पत्रकार सुरेश रजकको हत्या गरिएको, अन्नपूर्ण पोस्ट दैनिक, कान्तिपुर टेलिभिजन जस्ता मिडिया हाउसहरूमा डुङ्गा प्रहारसहित आगो लगाउने प्रयास गरिएकोमा आपत्ति जनाउँदै स्वतन्त्र पत्रकारिताको प्रत्याभूति दिलाउन ध्यानाकर्षण गराइएको महासंघ जिल्ला सचिव नवराज श्रेष्ठले बताए ।
ध्यानाकर्षण पत्र बुझेपछि सामूहिक तस्बिरमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु र पत्रकारहरु
केन्द्रको निर्देशन अनुसार पहिलो चरणको आन्दोलनमा होमिएको महासंघले हिजो सबै मिडिया हाउसहरूमा कालो पट्टि बाँधेरै काम गर्दै विरोध जनाए बने भोलि मंगलबार प्रेस सङ्गठनहरूसँग अन्तरक्रिया तथा छलफल गर्दै छ ।
पछिल्लो समय भएका राजावादीहरूको आन्दोलनकै क्रममा हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गर्ने, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको र फोटो पत्रकार नीरज तामाङको क्यामेरा लुटिएको घटनामा समेत जिल्ला शाखाले विरोध गर्दै घटनामा संलग्नहरूलाई कारबाहीको माग गरेको छ ।
यस्ता घटनाले पत्रकारहरूलाई निराशा पार्ने काम भएको भन्दै शान्तिपूर्ण काम गर्ने वातावरण सिर्जना गरी पत्रकारको ज्यू धनको रक्षा गर्न समेत महासंघले जोडदार माग गरेको छ ।