नमुना मावि डहुले शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउँदै भन्यो ‘माग पूरा नहुँदा सम्म शैक्षिक तथा प्रशासनिक काम बन्द’

| बैशाख ३, २०८२ बुधबार

A A A
A A A

३ वैशाख, रामेछाप । जिल्लाकै नमूना विद्यालय डहु माविले शिक्षकहरू आन्दोलनमा रहेको र आफ्ना माग पुरा नभएको भन्दै विद्यालय बन्द गरेको छ । गाउँपालिकाको शैक्षिक क्यालेन्डर अनुसार आज बुधवार देखि नयाँ शैक्षिक सत्रको विद्यालय भर्ना सहित कक्षा सुचारु हुनु पर्ने भए पनि विद्यालयले शिक्षकहरू निरन्तर आन्दोलनमै रहेको भन्दै आन्दोलन नटुङ्गिँदा सम्म विद्यालय बन्द गरेको जनाएको हो । 

 

मंगलबार एक सूचना जारी गर्दै डहू माविले भनेको छ ‘शिक्षक समुदायको हक–हित, पेसागत सुरक्षा, सम्मान र समुचित शिक्षा प्रणाली स्थापनाका लागि देशव्यापी शिक्षण अवरोध (शैक्षिक हडताल) २०८१ चैत २० गतेदेखि जारी रहेको छ । यस आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै डहु माध्यमिक विद्यालय, सुनापती–०४, रामेछापले पनि सम्पूर्ण शैक्षिक तथा प्रशासनिक गतिविधिहरू हाललाई स्थगन गर्ने निर्णय गरिएको छ ।’

 

सुनापती गाउँपालिकाको शैक्षिक क्यालेन्डर अनुसार वैशाख ०३ गतेदेखि आज देखि सुरु हुने भनिएको भर्ना कार्यक्रम समेत अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उल्लेख गर्दै आन्दोलनको समापन भएपछि मात्र नयाँ तालिका सहित भर्ना कार्यक्रम सञ्चालन गरिने’ जारी सूचनामा उल्लेख छ । 

तस्बिर स्रोत सामाजिक संजाल ।

 

विद्यालयका प्रधानाध्यापक दलबहादुर बलले जारी गरेको पत्रमा विद्यालय परिवार शिक्षक आन्दोलनका सबै कार्यक्रमप्रति ऐक्यबद्ध रहेको उल्लेख गर्दै पूर्ण साथ र समर्थनका साथ आन्दोलन सफल पार्न लाग्ने बताइएको छ । 

 

शिक्षकहरूले विभिन्न माग राखेर काठमाडौँमा निरन्तर आन्दोलन गर्दै आएका छन् । उनीहरूले आफ्नो माग पुरा नभए सम्म नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलन जारी राख्ने अडान राख्दै आएका छन् । माग पुरा नभएसम्म विद्यालय भर्नासहित सबै प्रशासनिक कार्य समेत रोक्ने चेतावनी दिँदा विद्यालय भर्ना लगाएको काम रोकिएको छ । साथै, एसइई को परीक्षा पुस्तक समेत जाँच्ने काम रोकिएको छ। नजिकिएको कक्षा १२ को परीक्षा पनि अन्योलमा परेको छ ।