रामेछापमा सञ्चालित ‘एनजिओ’हरू ठिक ढंगले नचलेको र पार्टीका कार्यकर्ता भर्ती केन्द्र भएको भन्दै जनप्रतिनिधिद्वारा चर्को आलोचना

०५ वैशाख, रामेछाप । रामेछाप जिल्लामा सञ्चालित गैरसरकारी संस्थाहरू (एनजिओ) का गतिविधि अपारदर्शी र चित्त बुझ्दो ढङ्गले संचालन नभएको भन्दै जनप्रतिनिधिहरूले चर्को आलोचना गरेका छन् । उनीहरूले गैर सरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिको कार्य शैली प्रति प्रश्न गर्दै सच्चिएर अगाडि बढे निरन्तर जान सहयोग गर्ने ‘नत्र यस्ता परियोजना तत्काल रोक्ने सम्म’ सम्मको चेतावनी दिएका छन् । विगतको तुलनामा (एनजिओ) हरू न्यून भएको भन्दै दातृ निकायले दिएको सहयोगको सही सदुपयोग हुनु पर्नेमा जोड् दिएका हुन् ।
बिहीबार जिल्ला समन्वय समिति रामेछापले आयोजना गरेको सरोकारवालाहरूको सँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश सांसद एवं नेकपा माओवादी केन्द्रका नेता तारानारायण श्रेष्ठले भने ‘पार्टीको कार्यकर्ता भर्ती केन्द्र बनाउने यस्ता संस्था नभए पनि हुन्छ’ ती संस्थाहरू सच्चिनु पर्ने सुझाव दिँदै सांसद श्रेष्ठले (एनजिओ) हरू पार्टीको कार्यकर्ता भर्ती केन्द्रको रूपमा स्थापित हुँदा यसको गरिमा सकिएको जिकिर गरे ।
(एनजिओ) हरूले गर्ने सबै कार्यक्रम आफू खुसी संचालन गर्ने गरेको आरोप लगाउँदै सांसद श्रेष्ठले स्थानीय तह र जनप्रतिनिधिसँग सहकार्य नै गर्न नसकेको जिकिर गरे । नेता एवं सांसद श्रेष्ठले आफूहरूले अब (एनजिओ) को हकमा राम्रोलाई राम्रो भन्ने र नराम्रोलाई ‘मोर्चा’ बनाएर त्यसै अनुसारको कार्य गर्छौँ सम्म भने ।
त्यस्तै नेपाली काँग्रेस रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्कीले पनि (एनजिओ) हरूको कारण देशवासीहरू बदनाम भइरहेको तर्क गर्दै ती संस्थाहरूले सोचेर मात्रै आफ्ना गतिविधि अगाडि बढाउनु पर्ने सुझाए । अमेरिकी राष्ट्रपतिले भ्रष्ट्राचार आरोप लगाउँदा आफूहरूको टाउकोमा पनि आरोप थोपरिएको जिकिर गर्दै नेता कार्कीले यहाँ सञ्चालनमा रहेका दातृ निकायका संस्थाहरूको आफ्नो पारदर्शितालाई ध्यानमा राख्नु पर्नेमा जोड् दिए ।
प्रखर वक्ताको रूपमा परिचित कार्यवाहक उपसभापति कार्कीले मन्थली नगरपालिका, खाँडादेवी र सुनापति गाउँपालिकामा मात्रै (एनजिओ) हरूले आफ्ना गतिविधि गरिरहेकोमा आपत्ति जनाउँदै दुर्गम क्षेत्रमा कार्यक्रम लैजान सुझाए । पुरानाहरूले नयाँ पनको कार्यक्रम गर्न सुझाउँदै परिवर्तन अरूबाट नभएर आफूबाटै गरेर देखाउन (एनजिओ) हरूलाई कार्यवाहक सभापति कार्कीले सुझाए ।
नेकपा (एमाले) रामेछापका सचिव प्रकाश कुमार कार्कीले भने विगतको तुलनामा धेरै (एनजिओ) हरू घटेकाले भएका ती संस्थालाई निगरानीमा राख्ने तर धेरै आलोचना गर्न नहुने धारणा राखे । जिल्लाको विकास निर्माणमा टेवा पुर्याउने उनीहरूको उद्देश्य प्रस्ट रहेको बताउँदै सचिव कार्कीले (एनजिओ) हरूले पनि स्थानीय तहहरू सँग सहकार्य गरेर काम अगाडि बढाउन सुझाए ।
जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का (कार्की) को अध्यक्षतामा भएको कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद एवं उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले पनि (एनजिओ) हरूले आफ्नो कार्यशैली नयाँ ढाँचाबाट गर्न आवश्यक भइसकेको बताउँदै नयाँ र तत्काल उपलब्धि दिने कार्यक्रमहरू गर्न आग्रह गरे । पुरानै शैलीले कार्यक्रमहरू गर्दा तालिम लिने र दिने मात्रै भइरहेको उल्लेख गर्दै नयाँ र लक्षित वर्ग सम्म पुग्ने कार्यक्रमहरू गर्न सुझाए ।
त्यस्तै, रामेछाप नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं ७ सुकाजोरका वडा अध्यक्ष समीर कार्कीले (एनजिओ) हरूले कार्यक्रम गर्दा स्थानीय तहसँग समन्वय र सहकार्य नगरेको बताए । ‘कुनै केही थाहा हुँदैन । कार्यक्रम सकिने लागेपछि । अप्ठ्यारो परेपछि बल्ल हामी कहाँ आइपुग्नु हुन्छ नत्र थाहा हुन्न’ प्रवक्ता कार्कीले भने । नगरपालिकाको तर्फबाट बोल्दै प्रवक्ता कार्कीले धेरै संस्थाहरू रामेछाप नगरमा आउन नमानिरहेको सुनाउँदै आएकाहरूले पनि सहकार्य नै नगरेको गुनासो गरे ।
गैसस महासंघका अध्यक्षको स्वीकारोक्ति
अधिकांश जनप्रतिनिधि र वक्ताहरूले आलोचनासहित प्रश्न गरेपछि दुई पालिकामा सञ्चालित हेफर प्रोजेक्टका प्रमुख समेत रहेका (गैसस) महासंघ रामेछापका अध्यक्ष रत्न प्रसाद कँडेलले केही (एनजिओ) हरूको कार्यशैलीमा कमी कमजोरी रहेको स्वीकार गर्दै राम्रो पनि गरेको तर्क गरे । ‘हामी गलत भएको खण्डमा सचिन्छौँ’, नराम्रो मात्रै नगरेको जिकिर गर्दै बोरोजगारहरुलाई तालिम दिएको देखि सिप सिकाएको, आम्दानीको बाटो देखाएको जस्ता धेरै राम्रा काम पनि (एनजिओ) ले गरेको दाबी गरे ।
भएका कमजोरीहरूलाई सुधारे र सहकार्य र समन्वय गर्दै संविधानमा उल्लेख भए अनुसार राज्यसँग मिलेर काम गर्न भने कसैले रोक्न–छेक्न नमिल्ने जिकिर गरे ।