६ बुँदे मागसहित राप्रपा रामेछापले सिडिओ मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

| बैशाख ९, २०८२ मंगलबार

A A A
A A A

९ वैशाख, रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रामेछापले प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार जिल्ला अध्यक्ष भरत सी वाइबा, रामेछाप नगरपालिकाका नगर अध्यक्ष फणीन्द्र खड्का लगायतको उपस्थितिमा प्रशासन पुगेको टोलीले (सिडिओ) पौडेल मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ६ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको राप्रपा रामेछापका सचिव दीपक कार्कीले जानकारी दिए । 

 

पछिल्लो समय देशव्यापी चरणबद्ध आन्दोलनमा रहेको राप्रपाले मंगलबार देशैभरि ज्ञापन पत्र बुझाउने पूर्व निर्धारित कार्यक्रम अनुसार बुझाएको ६ बुँदे ज्ञापन पत्रमा भनिएको छ ‘तीनकुने घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गर्नु पर्ने, पूर्व न्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोगको गठन गरिनु पर्ने, निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको राजीनामा दिनु पर्ने र चैत्र १५ गतेको घटनामा नेतृत्व गर्ने प्रहरी, प्रशासनिक नेतृत्वको समेत निलम्बन गर्नु पर्ने माग राप्रपाले राखेको छ । 

 

त्यस्तै, तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजक र सबिन महर्जनलाई सहिद घोषणा गरी क्षतिपूर्तिको समेत उपलब्ध गर्नु पर्ने, सरकारले झुठा मुद्दा लगाएको आरोप सहित ती मुद्दा खारेजी गर्नु पर्ने समेत राप्रपाले भनेको छ । झुट्टा मुद्दामा पक्राउ गरिएकाहरूलाई तत्काल रिहाइ हुनु पर्ने राप्रपा रामेछापले माग गरेको हो । 

 

आन्दोलित राप्रपाले बुझाएको ४० बुँदे माग प्रति सरकार गम्भीर हुन आग्रह गर्दै वार्ता टोलीको गठन गरी वार्ता गर्न समेत सरकारलाई आग्रह गरिएको छ ।