रामेछाप उद्योग वाणिज्य संघले शिविर मार्फत गर्यो व्यवसायीहरूको ढक, तराजु परीक्षण

११ वैशाख, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले नाप, तौलका सामाग्रीको प्राविधिक परीक्षण गराएको छ । संघको सचिवालयमा तीन दिन देखि पायक पर्ने व्यापार व्यवायीहरुका ढक, तराजु, लिटर, मिटरको दर्ता तथा नवीकरणको शिविर मार्फत परीक्षण गराएको हो ।
गुणस्तर तथा नाप, तौल कार्यालय जनकपुरबाट खटिएको प्राविधिक टोलीले संघको पहल, मन्थली नगरपालिकाको सहकार्य र उद्योग तथा वाणिज्य कार्यालय रामेछापको सहकार्यमा उपभोक्ताहरू तौलबाट नठगिउन् भनेर नियमित गर्नु पर्ने नाप, जाँच वा परीक्षणको यकिन गर्न शिविर संचालन गरिएको संघका कार्यकारी अधिकृत नवीन घिमिरेले जानकारी दिए ।
उनका अनुसार विगत ३ वर्षदेखि हुन नसकेको प्राविधिक परीक्षण यो वर्ष स्थानीय सरकारको आर्थिक र उद्योग वाणिज्य कार्यालय समेतको सहकार्यमा शिविर संचालन गरिएको हो ।
मंगलबार देखि सुरु भएको शिविर १५ गते मन्थली नगरपालिका वडा नं १ देखि १४ सम्म, लिखु तामाकोशी गाउँपालिकाको खिम्ती र रामेछाप नगरपालिका भित्र रहेका व्यवसायीहरूको नाप जाँच सामाग्री परीक्षण गरेर सकिने संघका सचिव यज्ञ सुवेदीले बताए ।
तेस्रो दिन सम्म मन्थली स्थित संघको सचिवालयमा जारी शिविरमा १ सय ७० जना भन्दा बढी व्यवसायीले नाप, जाँचका सामाग्री परीक्षण गराएको संघका वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताए ।
विगतमा गरिएको नाप, जाँच परीक्षणको क्रममा मन्थलीका सुनचाँदी पसलका ढक, तराजुमा त्रुटि भेटिएकोमा यो पटक त्यस्तो नभेटिएको गुणस्तर तथा नाप तौल कार्यालय जनकपुरका कार्यालय प्रमुख सुनिल कुमार यादवले बताए । केही साना तीना समस्या देखि पनि गम्भीर प्रकृतिका समस्या भने नरहेको उनको भनाई छ ।
त्यस्तै, नाप, तौलका सामाग्री सही तरिकाले प्रयोग गर्नका सिकुन् भन्ने उद्देशले संघले एक दिने जनचेतना मूलक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ ।