नेपाली सेनाले रामेछापसहित ११ जिल्लाका पत्रकारलाई दियो ५ दिन ‘रक्षा संवाददाता’ तालिम

| बैशाख २७, २०८२ शनिबार

A A A
A A A

२७ वैशाख, रामेछाप । नेपाली सेनाले ११ जिल्लाका पत्रकार एवं सञ्चारकर्मीहरूलाई रक्षा संवाददाता तालिम दिएको छ । सेनाले राष्ट्र हित र जनताको लागि गर्दै आएका विभिन्न गतिविधिको जानकारी गराउँदै आगामी दिनमा नेपाली जनताको हितमा संचालन हुने कार्यहरूलाई थप प्रचारप्रसार गर्दै जनतासँग नजिक हुन चाहेको समेत बताएको छ । 

 

गएको वैशाख २२ गते सोमबारदेखि मधेश प्रदेशको महोत्तरी स्थित बर्दिबासको मध्यपूर्वि पृतना हेडक्वार्टर बागमती प्रदेशको रामेछापसहित दोलखा र सिन्धुली र मधेश प्रदेशका ८ जिल्लाका पत्रकारहरूलाई नेपाली सेनाले स्थापना देखि हाल सम्म संचालन गर्दै आएका सम्पूर्ण गतिविधि जानकारी गराउँदै ‘रक्षा संवाददाता’ तालिम दिएको हो । 

 

मधेश प्रदेशको बारा जिल्लाको सिम्रौनगढस्थित रानिवास दरबार र कलैयास्थित ऐतिहासिक पार्कको स्थलगत भ्रमण एवं अवलोकनसहितको तालिमको समापन गर्दै मध्य पूर्वी पृतनाका चिफ अफ स्टाफ सहायक रथी भूवन खत्रीले नेपाली सेना सञ्चारकर्मी एवं पत्रकार मार्फत नेपाली जनतासँग नजिक हुँदै सकारात्मक सहकार्य गर्न लागि परेको दोहोर्‍याए । उनले नेपाली सेना राष्ट्रको हितमा हुने जुनसुकै गतिविधिको लागि हरदम तयार रहेको उल्लेख गर्दै जनता र देशको हितमा सूचना सम्प्रेषण गरेर पत्रकारहरूले सन्देश पुर्‍याउन भूमिका खेल्न समेत आग्रह गरे। ‘नेपाली सेनाबारे जसरी बाहिर सूचना पाउन तपाईँहरूलाई गाह्रो पर्छ भन्ने वातावरण छ । अब त्यो हट्ने छ र नागरिक सम्म सहज रूपमा सकारात्मक सूचना पुग्ने विश्वास छ।’ 

विगत लामो समयदेखि ‘नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण’ गर्ने रामेछापको हजुरको रेडियो, दोलखाको रेडियो शैलुङ् र सिन्धुलीको सिद्ध बाबा रेडियोसहित चार वटा रेडियोलाई नगद ५–५ हजारसहित सम्मान समेत गरिएको सो समापन कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त पृतनाका चिफ अफ स्टाफ सहायक रथी खत्रीले ३४ वर्षदेखि नेपाली सेनामा उनले मिडियासँग गर्दै आएको सहकार्यको अनुभव समेत सुनाएका थिए । ‘हामीले निकै महत्त्वपूर्ण कार्यक्रम राज्यका चौथो अङ्गको रूपमा रहेको तपाईँहरू सँग सम्पन्न गर्न पाएकोमा हर्षित छु ।’

जुनसुकै अवस्थामा पनि संचारजगतले खेल्ने भूमिका महत्त्वपूर्ण हुनेमा जोड् दिँदै नेपाली सेनाबारे नागरिकहरूलाई स्पष्ट सूचना दिन समेत उनले आग्रह गरे। 

मिलन घिमिरे (बि क)
| पुस २०, २०८१ शनिबार