रामेछापका सामुदायिक विद्यालय सुधार गर्ने छातीमा हात राखेर प्रतिबद्धता गर्दै सरोकारवालाको ५ बुँदै साझा संकल्प घोषणा

| जेठ ६, २०८२ सोमबार

A A A
A A A

५ जेठ, रामेछाप । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने उद्देश्यले रामेछापको मन्थलीमा आयोजित एक दिने विशेष शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रममा सहभागी सरोकारवालाहरूले “हामी सुधार्छौँ, हाम्रो विद्यालय” भन्ने अभियान अन्तर्गत ५ बुँदे साझा संकल्प घोषणा गरेका छन् । उनीहरूले विद्यालय सुधार्न भन्दै प्रशिक्षक एवं शिक्षाविद्हरूले सामूहिक रूपमा छातीमा हात राखेर गराएको प्रतिबद्धता दोहोर्‍याएका छन् ।  

 

विद्यालय परिसरमा कुनै पनि राजनीतिक गतिविधि निषेध गराउने भन्दै विषयगत योजना निर्माण गरी नियमित रूपमा शिक्षण सिकाइ सुधारमा जोड दिइने साझा प्रतिबद्धता जनाइएको हो । कार्यक्रमको समापनमा सहभागी सबै प्रतिनिधिहरूले शिक्षा सुधारको अभियानमा मन, वचन र कर्मबाट योगदान दिने दृढ सामूहिक बाचा समेत गरेका हुन् । 

 

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालद्वारा आयोजित उक्त कार्यक्रममा शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला, स्थानीय शासन विज्ञ सोमत घिमिरे, शिक्षाविद् डा. बलराम तिमिल्सिना र सामुदायिक विद्यालय व्यवस्थापन समितिका महासंघका अध्यक्ष गुणराज मोक्तान लगायतका शैक्षिक अभियान्ताहरुले सामुदायिक शिक्षाको वर्तमान अवस्था, चुनौती र सुधारका सम्भावनाहरूका बारेमा गहिरो चर्चा गरे गरेका हुन् । उनीहरूले सामुदायिक विद्यालयहरूलाई केवल सरकारी स्रोतमा निर्भर नभई समुदायको सक्रिय सहभागितामा स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षकको प्रतिबद्धता र अभिभावकको सहयोगमार्फत सुधार विद्यालयलाई तत्काल सुधार गर्न सकिने प्रबल सम्भावनाहरूका बारेमा चर्चा परिचर्चा गरे । 

 

कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत साथै मन्थली नगरपालिकाका केही वडाध्यक्षहरूको उपस्थिति समेत रहेको थियो। स्थानीय सरकारका प्रतिनिधिहरूले विद्यालय सुधारको अभियानमा आफूहरू हरदम तयार रहेको प्रतिबद्धता दोहोर्‍याउँदै जिम्मेवारी पूरा नगर्ने तर आशा र अपेक्षा बढाउँदै विद्यालयको नतिजा नसुध्रिनुमा विभिन्न कारण देखाएर पन्छिने शिक्षकहरूको कारण विद्यालय सुधारमा समस्या खडा भएको धारणा राखे । 

सोही अवसरमा शैक्षिक सत्र २०८१/०८२ को नतिजामा देशभरकै पहिलो भएको दाबी गर्दै मन्थली माविका प्रधानाध्यापक डा. टंक प्रसाद दाहालले टिममा मिलेर काम गर्दा सामुदायिक विद्यालयको गौरवपूर्ण उपलब्धि हासिल गर्न सफल भएको जिकिर गरे । आफूहरूले जिरोबाट विद्यालयलाई कसरी सफल, सबल र सक्षम बनाए भन्ने अनुभव सुनाउँदै प्र.अ. डा. दाहाले नमुना विद्यालय बन्ने मार्गमा भएका चुनौती र त्यसलाई पार गर्दै विद्यालयलाई गुणस्तरीय शिक्षामा उभ्याउने प्रक्रिया सबै शिक्षकका लागि प्रेरणादायक भएको उल्लेख गरे ।

 

जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित ३४ जिल्लाका विद्यार्थी पठनपाठन गर्दै आएको सुनापतिको डहु माविका प्रधानाध्यापक बलबहादुर बलले पनि आफ्ना विद्यालयलाई नमुना विद्यालय बनाउन सफल अनुभव सुनाउँदै शिक्षकहरूलाई निरन्तर कडा मिहिनेत र प्रतिबद्धताका साथ काम गर्न सके सामुदायिक विद्यालय सुधार गर्न सकैले रोक्न नसक्ने जिकिर गरे । उनले विद्यालय सुधार गर्न बजेट माग्न हिँड्ने भन्दा पनि बजेट दिने वातावरण निर्माणमा सबै लाग्नु पर्नेमा जोड् दिए । उनले आफ्नै दुवै सन्तान सरकारी विद्यालय डहुबाटै अमेरिकामा स्कलर सिपमा नाम निकाल्ने र डाक्टर (एमबिबिएस) हुने सम्म बनाएको भन्दै शिक्षकका छोरा छोरी निजी महँगा विद्यालयमा पढाउनु पर्छ भन्ने भाष्य आफूले तोडेको बताए । 

 

जिल्ला भरीका सरकारी विद्यालयका प्रमुख जिम्मेवार बोकेकाहरूको उपस्थिति रहेको उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल शिक्षक महासंघ रामेछापका अध्यक्ष शंकर प्रसाद ढुङ्गेलसहितको टोलीले ५ बुँदे घोषणा पत्र जारी गर्दै आगामी दिनमा कक्षाकोठामा सिकाई केन्द्रित वातावरण बनाउन, शिक्षक र विद्यार्थी दुवैको नियमितता सुनिश्चित गर्न र प्रविधिको प्रयोगमार्फत शिक्षण पद्धतिलाई आधुनिक बनाउने साझा प्रतिबद्धता जनाएका हुन् । 

साथै, शिक्षक र अभिभावकबिच सहकार्यलाई अझ मजबुत बनाउन घर र विद्यालयबिचको भूमिकालाई स्पष्ट पार्ने, वर्षमा कम्तीमा दुई पटक अभिभावक–शिक्षक भेटघाट आयोजना गर्ने र विद्यार्थीको प्रगति सम्बन्धी जानकारी नियमित दिने योजना बनाउने समेत घोषणा पत्रमा उल्लेख छ।

 

विद्यालयको भौतिक पूर्वाधार सुविधा सम्पन्न भएको स्मरण गर्दै स्वच्छ पिउने पानी, शौचालय, पुस्तकालय, प्रयोगशाला, खेलमैदान र कक्षा व्यवस्थापनमा सुधार ल्याउन स्थानीय स्रोत र समुदायको सहयोग लिने प्रतिबद्धता जनाइएको छ।

 

शिक्षा व्यवस्थापनमा पारदर्शिता कायम गर्न विद्यालयका गतिविधि, सूचना र योजना अभिभावक तथा समुदायसँग साझा गरिनेछ। विद्यार्थी तथा अभिभावकसँगको संवाद र संलग्नतालाई प्राथमिकता दिँदै शिक्षक, कर्मचारी र व्यवस्थापन समिति पूर्ण जिम्मेवारीका साथ क्रियाशील रहने भनिएको छ । 

 

साथै, सहभागीहरूले सामुदायिक विद्यालयलाई सबैको साझा शैक्षिक गन्तव्य बनाउने लक्ष्यसहित अबदेखि जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका सन्तान सामुदायिक विद्यालयमै अध्ययन गराउने, प्रत्येक शिक्षकलाई ल्यापटप दिने, विद्यार्थीले उत्पादन गरेको सामग्री स्थानीय तहले खरिद गर्ने, समाजसेवी तथा स्थानीय स्रोत व्यक्तिहरूलाई अतिथि शिक्षकका रूपमा कक्षामा लगिने प्रतिबद्धतामा भनिएको छ ।