रामेछापको पुरानागाउँमा पढ्दै गरेका विद्यार्थीलाई जबरजस्ती निकालेर जनप्रतिनिधिले नै लगाए विद्यालयमा ताल्चा

५ जेठ, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँ स्थित स्थानापति मा.वि. बाङ्गेसल्लामा पठनपाठन भइरहेको बेला विद्यार्थीहरूलाई कक्षाबाट निकाली जनप्रतिनिधिहरूले नै विद्यालयमा तालाबन्दी गरेपछि कारबाही गरिनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता भएको छ । जिल्ला समन्वय समिति सदस्य समेत रहेकी हिरा कुमारी गिरी र वडा सदस्य धनलाल तामाङसहितको टोलीले पठनपाठन भइरहेको विद्यालयमा विद्यार्थी र शिक्षकहरूलाई आतङ्कित पार्दै विद्यालयमा तालाबन्दी गरेपछि ताला खुलाई पठनपाठन गर्ने वातावरण मिलाउनु पर्ने मागसहित प्रशासनमा विद्यालयका (प्र.अ.)ले निवेदन दर्ता गरेका हुन् ।
विद्यालयका (प्र.अ.) शम्भु मण्डलले सोमबार पठनपाठन भइरहेको बेला विद्यालयमा तालाबन्दी गर्ने समन्वय सदस्य गिरी र वडा सदस्य तामाङलाई आवश्यक कानुनी कारबाही गर्नु पर्ने माग सहित निवेदन दर्ता गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
प्रशासनमा दर्ता गरिएको पत्रमा भनिएको छ ‘विद्यालयका सम्पूर्ण विद्यार्थी तथा शिक्षक कर्मचारीलाई आतङ्कित बनाई विद्यालयमा ताल्चा लगाएको हुँदा निजहरूलाई आवश्यक कानुनी कारबाही गरी विद्यालय निरन्तर सञ्चालन गर्ने वातावरण मिलाइ पाउँ ।’
जिल्ला समन्वय समिति सदस्य हिरा कुमारी गिरी र वडा सदस्य धनलाल तामाङ, तस्बिर स्रोत सामाजिक संजाल
२०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित गिरी र नेकपा (एमाले) बाट निर्वाचित वडा सदस्य तामाङले सार्वजनिक पदमा रहँदा रहँदै उक्त पदको नै धज्जी उड्ने गरी विद्यालयमा तालाबन्दी गरेर पदको दुरुपयोग गरेको निवर्तमान वडा अध्यक्ष बुद्धिबहादुर पुलामी मगरले बताए ।
जनप्रतिनिधि भएर समस्याको समाधान गर्नुको साटो विद्यालयमा तालाबन्दी गर्नु पदको चरम दुरुपयोग गरेका उनीहरूलाई सम्बन्धित निकायले कारबाही गर्नु पर्ने भन्दै निवेदन दर्ता भएको निकायले कारबाही गर्नेमा समेत आशङ्का व्यक्त गरे । नेपाली काँग्रेसका युवा नेता पुलामीले विद्यालयमा भएको यो खालको राजनीतिले उनीहरूमाथि कडा प्रश्न उब्जिएको बताउँदै सम्बन्धित पार्टीहरूले समेत उनीहरूलाई निगरानी गर्नु पर्ने उनको तर्क छ ।
जनप्रतिनिधि भएर समस्या समाधान गर्नु पर्ने बेला समस्या थप बढाउनु हास्यास्पद र पदीय मर्यादा विपरीतको कार्य भएको बताएका नेता पुलामीले निकास कसले दिनेमै प्रश्न खडा भएको धारणा राखे ।
प्रशासनमा (जिसस) सदस्य गिरी र वडा सदस्य तामाङलाई आवश्यक कारबाही गरिपाऊँ भन्दै निवेदन दर्ता भएको जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले रामेछाप टाइम्ससंग भने ‘कसैले पनि विद्यालय जस्तो शान्ति क्षेत्रमा तालाबन्दी गर्न पाइँदैन । उनीहरू दुवै जनालाई आजै डाकिएको थियो । भोलि आउने कुरा भएको छ’ । विद्यालयको ताला तत्काल खुलाउने प्रतिबद्धता गरेका ‘प्रजिअ’ थापाले नगरपालिका प्रमुख लव श्रेष्ठसँग (समन्वय) गरेको र नगर प्रमुखले आफै गएर ताला तोड्छु भनेको जानकारी गराए ।
(जिसस) सदस्य गिरी र वडा सदस्य तामाङले विद्यार्थीहरूलाई आतङ्कित पारेर विद्यालयको पठनपाठनलाई ठप्प पारेकोमा असन्तुष्टि जनाउँदै (प्रजिअ) थापाले भोलि दुवै जनालाई प्रशासनमा बोलाइएको बताए ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राजनीतिक भागबन्डाको आधारमा चुन्न दौड धूप भएको बुझिएको उक्त विद्यालमा पटक–पटक जेष्ठ सदस्यको नेतृत्वमा बैठक डाक्न आग्रह गरेपनि बैठक नडाकिएकाले विद्यालयमा भेला भएकाहरुले निर्णय नै गरेर तालाबन्दी गरिएको सार्वजनिक निर्णयमा उल्लेख गरिएको छ । यद्दयपी विव्यस अध्यक्ष आफ्नो फेबरको बन्न नसक्ने वातावरण सिर्जना भएपछि जनप्रतिनिधि नै पदको चरण दुरुपयोग गर्दै तालाबन्दीमा उत्रिएको दाबी गरिएको छ ।