पुरानागाउँको स्थानापति माविमा जनप्रतिनिधिले लगाएको ताला विद्यार्थीले तोडेर पठनपाठन थालियो

६ जेठ, रामेछाप । रामेछापको पुरानागाउँमा जनप्रतिनिधिले नै लगाएको ताला विद्यार्थीहरूले तोडेका छन् । सोमबार जिल्ला समन्वय समिति रामेछापकी सदस्य एवं नेकपा माओवादी केन्द्रकी नेतृ हिराकुमारी गिरी र वडा सदस्य धनलाल तामाङसहितको टोलीले स्थानापति मावि बाङ्गेसल्लामा लगाएको ताला मंगलबार प्रमुख जिल्ला अधिकारीको निर्देशनमा शिक्षकहरूसहितको उपस्थितिमा विद्यार्थीहरूले तोडेर पठनपाठन थालेका हुन् ।
लामो समयदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुन्न नसकेको उक्त माविमा विद्यार्थीहरूलाई आतङ्कित पार्दै जनप्रतिनिधिहरूले नै तालाबन्दी गरेपछि सो विद्यालयका प्रअ शम्भु कुमार मण्डलले ताला खोली उनीहरूलाई कानुन अनुसार कारबाही समेत गरिनु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।
सोही अनुसार (प्रजिअ) श्याम कृष्ण थापाले विद्यालय जस्तो शान्ति क्षेत्रमा तालाबन्दी गर्न नमिल्ने भन्दै ताला खोल्न आदेश दिएपछि विद्यार्थीहरूले नै मंगलबार बिहानै ताला तोडेर पठनपाठन सुरु गरेको विद्यालय प्रशासनले जनाएको हो ।
लामो समयदेखि (विव्यस) अध्यक्षको विषयमा छलफल गर्न बैठक डाक्न आग्रह गर्दा पनि विद्यालय प्रशासनले नमानेपछि भेला भएका अभिभावकहरूले निर्णय गरेर तालाबन्दी गरिएको जारी गरिएको निर्णयमा उल्लेख छ ।