रामेछाप प्रशासनले पहिलो पटक ‘कियूआर कोड’ मार्फत उजुरी दिन सकिने व्यवस्था गर्यो
नागरिकले अब मोबाइल मार्फत सहज रूपमा गुनासो दिन सक्ने
७ जेठ, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले पहिलो पटक (कियूआर कोड’ मार्फत उजुरी तथा गुनासो गर्न सकिने व्यवस्था सुरु गरेको छ। डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्दै सेवा प्रवाह थालिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको हो । राज्यका सबै निकायहरू प्रति नागरिकको भरोसा बढाउन एवं सहजै घरबाटै उजुरी तथा गुनासो गर्न सकुन् भन्ने उद्देश्यले यो सुविधा सुरु गरिएको प्रशासनको भनाई छ ।
बुधवार (आज) मन्थली स्थित प्रशासनको कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्यामकृष्ण थापाले (कियूआर कोड) प्रणाली सार्वजनिक गर्दै ३२ वटा सरकारी कार्यालयहरूसहित स्थानीय तह र अन्य दर्ता भएका गैरसरकारी संस्थाहरूको बारेमा समेत गुनासो तथा उजुरी अनलाइन मार्फत गर्न सकिने प्रविधिको व्यवस्था गरेको हुन् ।
कार्यालयहरूमा हुने सूचनाको सहज सार्वजनिक गर्ने सूचना अधिकारीहरू मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकी, रामेछाप नगरपालिकाका सूचना अधिकारी होमबहादुर थापासहित जिल्लाका अन्य सरकारी कार्यालयका सूचना अधिकारी, पत्रकार तथा सञ्चारकर्मीहरूको उपस्थितिमा (कियूआर कोड) सार्वजनिक गर्दै नागरिकहरूले प्रविधिको प्रयोग गरी गुनासो एवं उजुरी गरी राज्यका निकायलाई जवाफदेखि र पारदर्शिता राख्न सहयोग पुर्याउने उद्देश्यले प्रविधिको सुरुवात गरिएको प्रजिअ थापाले बताए । (प्रजिअ) थापाले भने ‘अब नागरिकले सरकारी कार्यालयमा आएर उजुरी दिनुपर्ने झन्झट हटेको छ। मोबाइलबाटै (कियूआर कोड) स्क्यान गरी सजिलै गुनासो गर्न सकिने छ’
केही समय अगाडि देखि मात्रै जिल्लाको नेतृत्वमा आएका उनले नागरिकका गुनासोलाई सम्बोधन गर्ने प्रतिबद्धता स्वरूप (कियूआर) प्रविधिको विकास गरिएको जानकारी गराउँदै जनताको गुनासो समयमै सम्बोधन गर्न यो प्रविधि निकै उपयोगी हुने विश्वास व्यक्त गरे । प्रजिअ थापा रामेछाप आएपछि नागरिकका पक्षमा गरेको यो पहिलो कार्य समेत हो ।
यस प्रणालीमार्फत उजुरी गर्दा सेवाग्राहीले आफूले भोगेको समस्या वा गुनासोलाई सिधै अनलाइन फारममार्फत पेस गर्न सक्नेछन्। कार्यालयले प्राप्त उजुरीलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। पहिलो पटक प्रविधिको थालिन गरिएकाले सुधार गर्दै लानू पर्ने विषयलाई सुधार्ने प्रजिअ थापा तर्क छ ।