आउँदो २७ गते गोकुलगंगा गाउँपालिकाले सार्वजनिक सुनुवाइ गर्ने

८ जेठ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले यही जेठको अन्तिम मंगलबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । पालिकाले आज एक सूचना जारी गर्दै भनेको छ, ‘सुशासन ऐन, २०६४ को परिच्छेद ५, दफा ३० को उपदफा (१) अनुसार पालिकाको कार्यसम्पादनलाई जनमुखी, जबाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागिता मूलक बनाउँदै कानुनी शासन, भ्रष्टाचार मुक्त प्रशासन, चुस्त प्रशासनिक प्रणाली र आर्थिक अनुशासन कायम गर्न सार्वजनिक सुनुवाइ गर्न लागेका हौँ ।’
मंगलवार बिहान ११ : ०० बजे गाउँपालिकाको सभा हलमा आयोजनाको तयारी गरिएको कार्यक्रममा पालिकाको चालु आर्थिक वर्ष ०८१/०८२ को कार्यसम्पादन, सेवा प्रवाह, योजना तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी जिज्ञासा, गुनासा, प्रतिक्रिया, विचार र सुझावहरू समेत संकलन गरिने तयारी भइरहेको पालिकाले जनाएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले सबै सरोकारवाला तथा गाउँवासीहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन अनुरोध गरेका छन् । उनले भने ‘गाउँपालिकाको सेवा प्रवाह र कार्यसम्पादनमा सुधार ल्याउन जनताको सुझाव र गुनासोहरू अमूल्य छन्।’
कार्यक्रमले गोकुलगंगा गाउँपालिकालाई सुशासनयुक्त, पारदर्शी र जनउत्तरदायी बनाउने दिशामा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
बर्खा सुरु हुनै लाग्दा विभिन्न जनहितका सूचना र सन्देश जारी गर्दै सडकहरूको सुरक्षा र व्यवस्थापनलाई चासो दिई रहेको यो पालिकाले पछिल्लो पटक सार्वजनिक सुनुवाइ गरेर जनताका समस्या तथा गुनासो सुन्न लागेको पालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले बताए ।