रामेछापमा गणतन्त्र दिवसका कार्यक्रम सुरुः जनप्रतिनिधि र कर्मचारी बिच मैत्री पूर्ण फुटबल देखि के–के गरिदै छ त कार्यक्रम ?

| जेठ १३, २०८२ मंगलबार

A A A
A A A

१३ जेठ, रामेछाप । यो वर्षको गणतन्त्र दिवस–२०८२ रामेछापमा भव्यताको साथ मनाइने भएको छ । जसअनुसार मंगलबारदेखि नै विभिन्न कार्यक्रम गरी शुक्रवार सम्म मनाइने तयारी समेत थालिएको छ । मंगलबार १३ गते बिहान सार्वजनिक स्थलहरूको सामूहिक सरसफाइ कार्यक्रम गर्दै गणतन्त्र दिवसको सुरुवात गर्ने मूल समारोह समितिले निर्णय गरेको हो । 

 

आयोजकले आज पहिलो दिन मन्थली बजार आसपासमा रहेका सार्वजनिक स्थलहरू मठ मन्दिर, बजार, लगायतका ठाउँको सरसफाइ गर्दै छ । 

 

सोमबार जिल्ला समन्वय समितिको हलमा समन्वय प्रमुख चिना खड्का (कार्की) को अध्यक्षतामा सम्पन्न मूल समारोह समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, मन्थली र रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको उपस्थितिमा १६ गते सम्म दीप प्रज्वलन, सरसफाइ, फलफूल वितरण, खेलकुद र प्रभात फेरी लगायतका कार्यक्रम दिवस गरी मनाउने निर्णय गरिएको हो ।  

 

बैठकमा राष्ट्रिय झण्डा राख्ने सजाउने, तामाकोशी र रणजोर खोलाका पुलहरूलाई सजाउने, दीप प्रज्वलन गर्ने, सरसफाइ अभियान थाल्ने, निःशुल्क स्वास्थ्य परीक्षण, र विद्यालय स्तरका प्रतियोगितात्मक कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिकी प्रमुख एवं दिवस कार्यक्रमकी मूल समारोह समितिकी संयोजक चिना खड्का कार्कीले जानकारी दिइन । साथै, समितिले सबै राजनीतिक दल, निजी क्षेत्र, सहकारी लगाएका संगसंस्थाहरु संग समेत विभिन्न चरणमा छलफल गरी दिवसलाई भव्य र सफल पार्न तयारी गरेको छ । 

 

कार्यक्रमहरूको व्यवस्थापनका लागि सबै सरकारी कार्यालयहरूले आ–आफ्नो जिम्मेवारी अनुसार सहभागी भई सफल पार्न छलफलमै (सिडिओ) थापाले सबै कर्मचारीलाई कडा निर्देशन दिए । ‘एक जना पनि नछुटुन् । त्यो दिन बिदा हैन । सबै कार्यक्रममा कर्मचारीहरूले अनिवार्य भाग लिनु पर्‍यो ।’

 

बैठकमा गणतन्त्र दिवसको ऐतिहासिक महत्त्वलाई स्मरण गर्दै जनप्रतिनिधि र कर्मचारी बिच मैत्री पूर्ण फुटबल खेल खेल्ने निर्णय गरिएको छ । त्यसको व्यवस्थापनको लागि जिल्ला खेलकुद, मन्थली नगरपालिका र रामेछाप नगरपालिकालाई जिम्मेवारी दिइएको छ । 

 

त्यस्तै ८ वटै स्थानीय तहमा विभिन्न सचेतना मूलक र गणतन्त्र दिवसको स्मरण सुखद र स्मरणीय बनाउने कार्यक्रमहरू गर्न आग्रह गर्दै सबै नागरिकहरूको घरमा दीप प्रज्वलन गरी दिवसलाई उल्लास पूर्ण तरिकाले मनाउन आग्रह गर्ने समेत बैठकले निर्णय गरेको छ । 

 

दिवसको मुख्य दिन १५ गते मन्थलीमा मदन आश्रित चोकदेखि कटहरको बोट सम्म पुगेर समन्वयको मैदानमा आएर एक ‘विशेष कार्यक्रम’ सहित सकिने गरी प्रभात फेरी गर्ने निर्णय गर्दै प्रभात फेरीमा सबैलाई उपस्थितिलाई हुन अपिल समेत गरिएको छ । तर, गत वर्षको जस्तो भीषण उपस्थितिलाई भने जोड नदिइने आयोजकको तयारी रहेको बुझिएको छ । 

 

यो वर्ष काठमाडौँमा गणतन्त्र दिवसकै दिन राजावादीहरूले भीषण आन्दोलन गर्ने तयारी गरेपछि गणतन्त्रको पक्षमा रहेका दलहरूले गणतन्त्रको पक्षमा पनि चरणबद्ध कार्यक्रमहरू सार्वजनिक गरिरहेका छन् ।