मन्थली माध्यमिक विद्यालयमा आज शोक बिदा

१३ जेठ, रामेछाप । मन्थली माध्यमिक विद्यालय मन्थलीका कक्षा १० सेक्सन ‘बि’ मा अध्ययनरत छात्र विकास खड्काको निधनमा आज मंगलबार विद्यालयले शोक बिदा दिएको छ ।
मन्थली नगरपालिका–७ निवासी विकास खड्काको निधनले विद्यालय परिवार स्तब्ध भएको जनाउँदै आज शोक बिदा दिइएको माविले एक शोक पत्र जारी गर्दै जानकारी दिएको छ । विद्यालय प्रशासनले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै समवेदना प्रकट गरेको हो ।
‘विद्यालयले आज सार्वजनिक गरेको शोक पत्रमा भनिएको छ, ‘ जेठ १३ गतेका लागि सम्पूर्ण पठनपाठन स्थगन गरिएको छ’ ।
विद्यालयका प्रधानाध्यापकद्वारा जारी सूचनामा भोलिदेखि कक्षाहरू नियमित सञ्चालन हुने स्पष्ट गरिएको छ । कक्षा १० मा अध्ययनरत छात्र खड्काले हिजो झुन्डिएर आत्महत्या गरेको बुझिएको छ । सोमबार विद्यालय नगएका विद्यार्थी खड्काले के कारणले आफ्नो ज्यान लिए भन्ने खुल्न नसकेको र अनुसन्धान भइरहेको पारिवारिक स्रोतको भनाई छ ।