मन्थली क्याम्पसको स्ववियु सभापतिको राजीनामा मागसहित स्ववियु कार्यालयमा अखिल क्रान्तिकारीले ताला लगायो

| जेठ १९, २०८२ आइतबार

A A A
A A A

१८ जेठ, रामेछाप । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रामेछापले मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको राजीनामा माग गर्दै कार्यालयमा तालाबन्दी गरेको छ । उपसभापति उत्सव केसीलाई निलम्बन गरिएको घटना रामेछाप टाइम्सले सार्वजनिक गरेपछि छताछुल्ल भएको स्ववियु मन्थली क्याम्पस समितिको आन्तरिक द्वन्द्व र घटनाक्रम प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै (क्रान्तिकारी) विद्यार्थी संगठनले कार्यालयमा तालाबन्दी गर्दै आइतबार सभापति सुशील थापाले राजीनामा दिनु पर्ने माग गरेको हो । सभापति थापाले आफैले दिएको सूचनाको आधारमा लेखिएको समाचारलाई गलत भनेर पानी माथिको ओभानो बन्ने प्रयास गरेको समेत अखिल क्रान्तिकारीले भनेको छ । साथै, सभापतिलाई गलत गतिविधि तत्काल रोक्न आग्रह समेत गरेको छ । 

 

स्ववियु सभापति सुशील थापाले पदीय दुरुपयोग गर्दै अनियमित, गैर जिम्मेवार तथा स्वेच्छाचारी व्यवहार देखाएको भन्दै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन क्रान्तिकारी मन्थली नगर कमिटीले ‘अनुसन्धान र प्राप्त विवरणहरूबाट सभापति थापा र सचिव भण्डारीले गरेको ‘केरमेर’ समेत तथ्यहरूबाट पुष्टि भइसकेको देखिन्छ’, भनेको छ । 

 

‘यस्ता आपत्तिजनक कार्यहरूमा संलग्न व्यक्ति स्वयम्ले यो किर्ते हो भन्दै पानी माथिको ओभानो बन्ने प्रयास गर्नु अत्यन्त निन्दनीय र गैर जिम्मेवार व्यवहार’ छ (क्रान्तिकारी) मन्थली नगर कमिटीका अध्यक्ष एवं स्ववियु सदस्य जोनसोन कार्कीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ,  ‘नेतृत्वमा बस्ने व्यक्तिबाट नै अनियमितता, अनुशासनहीनता देखिनु गम्भीर चिन्ताको विषय समेत भनेको छ ।’  

 

(स्ववियु) को आर्थिक पारदर्शितामा मै प्रश्न गरेको (क्रान्तिकारी) ले  हालसम्म स्ववियुको नाममा आयोजना गरिएका सबै कार्यक्रमहरूको आय व्यय समेत सत्य, तथ्य सार्वजनिक गर्न पनि भनेको छ । साथै, अखिल मन्थली नगर कमिटीले स्ववियु सभापतिले गैर संस्थागत गतिविधि नसच्याए सम्म स्ववियुका कुनै पनि गतिविधि नगर्न समेत चेतावनी दिएको छ । 

 

मन्थली क्याम्पसका प्रमुख डा.भरत श्रेष्ठलाई समेतलाई बुझाएको पत्रमा विद्यार्थीको हक अधिकार बोल्ने बनेर बनाइएको नेतृत्वको द्वयद् चरित्रले समस्या पैदा गरेको दाबी गरिएको छ ।