रामेछापको लाछेवरमा मध्यरातमा आगो लाग्दा एक घर जलेर नष्ट, ३१ लाख बढीको क्षति

२१ जेठ, रामेछाप । जिल्लाको अन्तिम मानव बस्तीको एक घरमा मध्य राति आगो लाग्दा जलेर पूरै नष्ट भएको छ । आगोलागिबाट उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देल लाछेवरका लाक्पा नुरी शेर्पाको घर पूरै जलेर सकिएको हो । घर धनीहरू चौरी गोठमा गएको बेलामा मध्य राति आगोलागेको हो ।
राति ३ः २५ बजेको समय कोही नभएको घरमा लागेको आगोबाट घरसहित घर भित्रको धनमाल, सम्पत्ति जलेर खरानी भएको घरधनी शेर्पाले रामेछाप टाइम्सलाई बताए । ‘हामी कोही थिएनौँ । नुप्चेमा चौरी गोठमा गएका थियौँ । दुई जना बच्चा बुबा आमासँग नजिकैको अर्को घरमा राखेर गएका थियौँ’ २० मिटर लम्बाई र साँढे छ मिटर चौडाइ भएको डुङ्गा र काठले बनेको घर जलेर किने स्थितिमा त्यहाँ स्थित नेपाली सेना र हाइड्रोपावरका कमदारहरुले आफूलाई लिन चौरी गोठमा पुगेको सुनाउँदै शेर्पाले बिलौना गरे ‘कठै धेरै भएकाले निभाउने कोसीस् पनि गर्न सकिएन ।’
अहिले केही काठ–पातबाट धुवा मात्रै उडिरहेको सुनाउँदै आगोलागिबाट ३१ लाख ७० हजार बराबरको क्षति भएको नेपाली सेनाको त्यहाँको टोलीले प्रारम्भिक मूल्याङ्कन गरेको सेनाका एक अधिकारीलाई उद्धृत गर्दै भने ‘केही पनि निकाल्न सकिएन लाएको लुगा बाहेक केही छैन ।’
काठ काट्ने मेसिनहरू सहित चौरीको घूऊ, छुर्पीको भण्डारण गरिएको उक्त घर भित्र ग्यास सिलिण्डर पनि रहेको बुझिएको छ। आगो लागि भएको थाहा पाए लगत्तै भिजन र अन्य हाइड्रोपावरका कामदारहरू निभाउन नेपाली सेनासहित जुटे पनि सम्भव नभएको प्रत्यक्षदर्शी भनाई छ ।
१७ वटा चौरी पाल्दै गोठमा हिजो मात्रै घर छाडेका शेर्पाले के कारणले आगो सल्कियो भन्ने यकिन नहुँदै ठुलो क्षति ब्यहोर्नु पर्नेको गुनासो गरेका हुन् ।