शैलुङ् पुगेपछि रामेछापका डिएसपी भट्टले भने ‘यो साँच्चै स्वर्गको टुक्रा रहेछ’

२४ जेठ, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव निरीक्षक (डिएसपी) भोला कुमार भट्टले शैलुङ् भ्रमण गर्न आह्वान गर्दै ‘शैलुङ् स्वर्गको टुक्रा’ रहेको प्रतिक्रिया दिएका छन् । देशका ९५ प्रतिशत हिमाल यहाँबाट देखिने प्रसङ्ग उल्लेख गर्दै डिएसपी भट्टले शैलुङ्को प्रचारप्रसार गर्न सके देशको अर्थतन्त्रलाई नै टेवा पुग्ने विश्वास व्यक्त गरे ।
केही महिना अगाडि मात्रै जिल्लामा प्रहरी प्रमुख भएर आएपछि यहाँका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गर्ने क्रममा शैलुङ् पुगेका डिएसपी भट्टले जिल्लावासी सबैले यहाँको प्रचारप्रसारलाई तीव्रता दिएर देशकै अर्थतन्त्रलाई टेवा पुर्याउन लाग्नु पर्ने उनको धारणा छ ।
‘यहाँका स्थानीय बासिन्दाले पनि धेरै भूमिका खेल्नु भएको छ’ दोलखा पट्टीको मिनी ग्रेटवाल, यताको बौद्ध, गुम्बा, भ्यूटावर सबै घुमेर हेर्दा शैलुङ् साँच्चै दक्ष कालीगढ्ले धेरै मेहनत गरेर बनाएको जस्तो अनुभव भएको छ’,डिएसपी भट्टले भने ‘यो साँच्चै स्वर्गको टुक्रा रहेछ ।’
सुदूरपश्चिमको खप्तड, बढीमालीकालाई समेत बिर्साउने शैलुङ रहेको विश्वास व्यक्त गर्दै डिएसपी भट्टले आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि गर्न लाग्नु पर्नेमा जोड् दिए ।
शैलुङ्का सयथुम्काहरु साँच्चै काल्पनिक जस्तो भएको उनको भनाई छ ।
नयाँ वर्ष २०८२ को पहिलो दिन शैलुङ, तस्बिर फाइल ।