निस्वार्थ रक्तदान गर्नेहरू प्रति जनस्वास्थ्य रामेछापको विवेधः रक्तदाताहरूलाई विजेता र उपविजेता घोषणा, तथ्याङ्क माग्दा हाकिमले भने ‘डाटा ल्याइन’

१ असार, रामेछाप । रक्तदाता माथि जनस्वास्थ्य कार्यालय रामेछापले सम्मान र पुरस्कृतको नाममा ‘मनपरी गर्दा’ सरोकारवालाहरूले प्रश्नै प्रश्न गरेका छन् । शनिवार विश्व रक्तदान दिवसको अवसरमा दुई वर्षभित्र विभिन्न समयमा रक्तदान कार्यक्रममा भाग लिएर व्यक्तिगत र संस्थागत गरी ‘मानव सेवा’ गरेका एक दर्जन व्यक्ति र संस्थाहरूलाई प्रोत्साहन गर्ने भन्दै प्रशंसा पत्र प्रदान गरेको जनस्वास्थ्य कार्यालय रामेछापले ‘रक्तदाताहरूलाई नै’ प्रथम, द्वितीय र तृतीय घोषित गर्दै फ्रेमसहितको पत्र थम्यापछि सरोकारवालाहरूले रक्तदान जस्तो पुण्य र निस्वार्थ सेवालाई ‘प्रतियोगितात्मक प्रतिस्पर्धामा उतार्नु सही नभएको’ धारणा राखेका हुन् ।
रामेछाप अस्पतालको प्रांगणमा विश्व रक्तदान २०८२ को अवसर पारेर आयोजित रक्तदान कार्यक्रम पछि आयोजित सम्मान एवं पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा सबै भन्दा धेरै पटक रक्तदान गर्ने व्यक्तिलाई जनस्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृतले एवं कार्यक्रम संचालिका सुस्मिता थपलियाले ‘रक्तदानमा प्रथम हुनु भएको छ’ भन्दै उद्घोष गरेपछि सम्मानित हुने व्यक्तिहरू नै अलमलिएका थिए । र, फ्लोरबाट सहभागीहरूले यो प्रतियोगिता कहिले र कहाँ ? आयोजना गरिएको थियो र भन्दै प्रश्न गरेका थिए ?
सो प्रश्नको उत्तर दिन नसकेका जिम्मेवार निकायले त्यसै गरी विभिन्न समयमा रक्तदान गर्ने व्यक्ति र संस्थालाई ‘प्रथम, द्वितीय र तेस्रो हुनुभयो’ भन्दै प्रशंसा पत्र प्रदान गरिरहे । रक्तदान जस्तो पुण्य र स्वइच्छ्याको विषयलाई प्रतियोगिता जस्तो गरी विजेता र उपविजेता घोषित गर्नाले स्वइच्छाले रक्तदान गर्ने ‘भाष्यमाथि’ प्रश्न चिन्ह खडा भएको हो ।
‘रक्तदान जीवनदान’ जस्तो पुण्य र निःस्वार्थ मानव सेवालाई प्रतियोगितात्मक प्रतिस्पर्धामा रुमलेर ‘रक्तदान सबैले गर्नु राम्रो हुन्छ’ भन्दै आफ्नो प्रस्तुति अगाडि बढाएका जनस्वास्थ्य कार्यालयका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत विभु कुमार झाले पत्रकारहरूले राखेका रक्तदानको इतिहास र जिल्लामा खपत हुने रगतको तथ्याङ्क समेत दिन सकेनन् ।
पत्रकारहरूलाई रक्तदान गर्न फाइदा जनक हुने भएकाले आम नागरिकलाई रक्तदान गर्न अभिप्रेरित गर्ने गरी सुसूचित गर्न अपिल गरेका प्रमुख झाले के कारणले फाइदा जनक हुन्छ भन्ने प्रश्नको उत्तर समेत तथ्य परक दिन सकेनन् । बरु उल्टै यो सामान्य छलफल भएकाले आफूले डाटा नल्याएको भन्दै पन्छिन खोजे । ‘यो सामान्य छलफल भएकाले मैले तथ्याङ्क ल्याइन ल्याएको भएर राम्रो हुने थियो’, रामेछापका एक वर्षमा कति रगत आवश्यकता पर्छ र कति खपत भइरहेको छ भन्ने पत्रकारको प्रश्नको जवाफमा वरिष्ठ जनस्वास्थ्य अधिकृत झाले हल्का हुँदै भने ‘त्यो डाटा मैले ल्याइन ।’
जिल्लामा विभिन्न समयमा एकै पटकमा सबै भन्दा बढी रगत संकलन गर्ने रामेछाप सहयोगी मनहरू (रासम) ४५ पिन, समावेशी बचत तथा ऋण सहकारी संस्था लि. मन्थली नगरपालिका चिसापानी (३७ पिन) र शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लि.मन्थली–१ रामेछाप (३१ पिन) लाई प्रथम, दोस्रो र तेस्रो भन्दै प्रशंसा पत्र दिएको आयोजकले जिल्लामा रगतको उपलब्धता कसरी भइरहेको छ भन्ने विश्वस्त जानकारी दिन समेत सकेन । यहाँ खपत नभएको रगत छिमेकी जिल्ला सिन्धुलीसहित काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका जिल्लामा पठाउँदै आएको जानकारी दोहोर्याइएको कार्यक्रममा बागमती प्रदेश सरकारले विपन्न परिवारलाई लक्षित गरी लागू गरेको निःशुल्क रक्तदान समेत अपुरो र अधुरो जानकारी दिइएर सहभागीहरूलाई अलमल्याइयो । रक्तदान निःशुल्क भनिएको तर विपन्न नभन्नेहरूलाई कसरी वितरण हुन्छ त्यस बारेमा केही बताइएन ।
त्यस्तै, पटक–पटक गरी सबै भन्दा बढी रगत संकलन गराएर प्रथम भएको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापलाई फ्रेमसहित प्रमाण पत्र हस्तान्तरण गरेको आयोजक जनस्वास्थ्यले जेसिआई रामेछापलाई दोस्रो, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म मन्थलीलाई तेस्रो पुरस्कार स्वरूप प्रशंसा पत्र प्रदान गर्यो ।
‘पत्रकारसँग अन्तरक्रिया विषयक’ ब्यानरमा कार्यक्रम राखेर २० जनाको कोटा नै तोकेर पत्रकार डाकेको आयोजकले अन्तरक्रियालाई विषयन्तार गरेको जनस्वास्थ्यले औपचारिक कार्यक्रमलाई निकै ‘हल्का’ गरी प्रस्तुत हुँदा सहभागीहरूले रगत जस्तो अति आवश्यक र संवेदनशील विषयमा स्वास्थ्य कार्यालयले हेलचेक्र्याइँ गर्नु गम्भीर विषय भएको बताइरहेका छन् । एक त रक्तदातालाई विजेता र उपविजेता जसरी प्रस्तुत गर्नु गलत हो । अर्को आयोजकले यो कार्यक्रमलाई हल्का भन्नु आफैमा गलत छ, पत्रकार महासंघ रामेछापका सह–सचिव कुमार श्रेष्ठले प्रश्न गर्दै भने ‘जनस्वास्थ्य कार्यालयको यो चरम लापरबाही हो ।’
कार्यक्रमको सही व्यवस्थापनमा समेत प्रश्न गर्दै यस्तो गल्तीले रक्तदान गर्छु भन्ने मानिसको मनस्थितिमा नकारात्मक असर पर्न सक्ने खतरा बढेको सह–सचिव श्रेष्ठ चिन्ता व्यक्त गरे ।
सोही कार्यक्रममा मन्थली–१ का बासिन्दा एवं रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन थापा मगरलाई सबै भन्दा धेरै पटक रक्तदान गरी (१४ पटक) लाई प्रथम, अनेरास्ववियुका नेता पुष्कर भट्टराई मन्थली–३ (४ पटक) लाई दोस्रो र मन्थली–५ का अध्यक्ष रविन कार्की (३ पटक) लाई तेस्रो भएको भन्दै सम्मान पत्रद्वारा जिल्ला रेड्क्रश सोसाइटी मन्थली र जनस्वास्थ्य प्रमुखले सम्मान गरे ।